लकडाउनमा लोकप्रिय बन्दै बझाङको कैलाश गुफा

Ad
  • Kalopati

बझाङ, बैशाख २५ ।
स्थानीय सरकारले चाँसो दिन नसकेको बझाङको कैलाश गुफामा यतिबेला आन्तरिक पर्यटक बढेका छन्। जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाश र खप्तड छान्ना गाउँपालिकाको वडा नम्बर ७ गोर्खालीको बिचमा पर्ने कैलाश गुफा स्थानीय तहले प्रचारप्रसार गर्न नसकेर ओझेलमा परेको हो।

तर विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि लकडाउन भएको अवस्थामा कैलाश गुफामा भने आन्तरिक पर्यटक बढेको स्थानीयले बताएका छन्। प्राकृतिक रुपमा निकै मनोमोहक कैलाश गुफामा आजभोली आवतजावत बढेको जयपृथ्वी नगरपालिका वडा नम्बर एकका वडाअध्यक्ष गगन सिँहले बताए।

लकडाउन अघि मानिसहरु त्यस क्षेत्रमा आवतजावत गरेपनि खासै चर्चामा नभएको तर अहिले गुफा स्थानीयसहित अन्य छिमेकी स्थानीय तहका मानिसको समय कटाउने र मनोरन्जन लिने गन्तव्य बनेको वडाअध्यक्ष सिँहले बताए। कैलाश गुफामा पछिल्लो समय हप्तैपिच्छे जिल्लाभित्रकै आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको कैलाशका स्थानीय कोपीला सिँहले बताइन। अहिले यहाँ बढीसजो जयपृथ्वी नगरपालिका र खप्तड छान्ना गाउँपालिकाका स्थानीय घुम्न जाने गर्दछन्।

कैलाश गुफा जाँदा भेटिने सेताम्य हिमाल, डाँडामै रहेको ताल, मठमन्दिर, चराचुरुङ्गी देखेर पनि मानिसहरुलाई घुम्न मनमोहक लाग्ने स्थानीय किश्वरजंग सिंहले बताए। पडेश घर भएका कलक खड्काले लकडाउनको समयमा मानिसहरु खासै नभएकाले र आवतजावत गर्दा जंगलको बाटो भएर जानुपर्ने भएका कारण घुमफिर गर्न एकदमै रमाइलो हुने बताए। ‘कैलाश गुफामा रहेका मठमन्दिर, हिउँले मानिसहरुलाई आर्कषित गर्छ, जहाँ हेर्यो त्यही रमाइलो छ। प्रचारप्रसार भयो भने झनै राम्रो हुने थियो’ उनले भने।

कैलाश गुफा सदरमुकाम चैनपुरबाट झन्डै ८ किलोमिटरको दुरीमा रहेको छ। जयपृथ्वी नगरपालिका १ कैलाशको चौड्यान, विनायकहुँदै करिब ७ घन्टाको पैदल यात्रापछि कैलाश गुफा पुग्न सकिन्छ। गुफाभित्र पानीका कुण्ड, गौथलीका गुणहरु समेत देख्न सकिन्छ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: