आठ महिनादेखी रोकियो बैतडीमा सडक मजदुरको तलब

Ad
  • Kalopati

 बैतडीमा सडक मजदुर (लेन्थवर्कर) ले विगत आठ महिनादेखि तलब नपाएको गुनासो गरेका छन्। जिल्लाको पाटन–पञ्चेश्वर सडकमा काम गर्ने लेन्थवर्करहरुले गएको असोज महिनादेखि तलब नपाएको गुनासो गरेका हुन्।

सो सडकमा काम गर्ने १२ जना मजदुरले तलब नपाउँदा दैनिक छाक टार्न मुस्किल भएको बताएका छन् । बर्षौँदेखि आफूहरु सडकमा काम गर्दै आएका तर पाटन पञ्चेश्वर सडक प्रदेश सरकारअन्तर्गत रहेपछि आफूहरुलाई तलब खान मुस्किल भएको मजदुर जयराम भुलले बताए। उनले भने “सडकमै काम गरेर परिवार पाल्ने जोहो गरिरहेको भए पनि पछिल्ला आठ महिनायता तलब नपाउँदा समस्या भएको छ।”

आफूहरुले काम गरेको तलब नपाउँदा घरपरिवार चलाउन मुस्किल भएको मजदुर लक्ष्मी दमाइले बताए। उनले भने, “तलबबिनै काम गर्नुपर्दा घरपरिवार चलाउन समस्या भएको छ।” सो सडकमा काम गर्ने लेन्थवर्करहरुलाई तलब खुवाउनका लागि प्रदेश सरकारका मन्त्री, सांसदहरुले आश्वासन दिएका भए पनि उनीहरुले तलब पाउन सकेका छैनन्।

लेन्थवर्करहरुसँग कुनै सम्झौता नभएको र यो विषयमा मन्त्रालयले पनि केही निर्णय नगरेकाले उनीहरुलाई तलब खुवाउन नसकिएको पूर्वाधार विकास कार्यालय बैतडीका प्रमुख जगत्प्रसाद जोशीले बताए। “यसअघि नै उनीहरुलाई काम नगर्न भनिसकेको छु”, उनले भने, “साउनदेखि असोजसम्मको तलब पनि सो सडकमा काम गरिरहेको निर्माण कम्पनीमार्फत मिलाएको हो।”  

पाटन–पञ्चेश्वर सडकमा काम गर्ने लेन्थवर्करहरुको फाइल मन्त्रालयमा पुगेको भए पनि अहिलेसम्म कुनै निर्णय हुनसकेको छैन। वर्षौँदेखि सोही सडकमा काम गरिरहेकाले आफूहरुलाई रोजीरोटीबाट नहटाउन लेन्थवर्करले माग गर्दै आएको छ। –रासस

Ad

RELATED POSTS

YOUR FEEDBACK: