हामी आयौं !

TaatoBahas
Ad
  • Kalopati

दुरीलाई दोष दिएर लामो समय सुदूरपश्चिमलाई देशले नै पक्षपात गरिरह्यो । बिकासको गति यतिसम्म सुस्त भयो कि सूर्य पनि अस्ताउन मात्र आउँछन् भन्ने उखान चरितार्थ भइरह्यो । अपार सम्भावनाका बीच सुदुरपश्चिम सधैं पछि परिरह्यो । पहाडी जिल्लाहरुमा भोकले जनता मरिरहे, सरकार टुलुटुलु हेरिरह्यो ।

समयसँगै देशमा व्यवस्था फेरियो । तर अहँ जनताको अवस्था फेरिएन । सधैं अभावभित्र गुटमुटिएर बाँच्नुको विकल्प भएन सुदुरका जनतासँग । तराईका जिल्लाहरुमा सामन्तीहरुले अराजकदा बढाए । दिनहुँ हाम्रा चेलीहरु बलात्कृत भइरहे । अपराधका घटना बढीरह्यो । तर सुदुरका पक्षमा बोल्ने थोरै भए । आफ्नै भूमिमा फर्कन नपाएकाहरुको पीडा राष्ट्रिय सञ्चारमाध्यमहरुमा कहिले पनि फ्रन्ट पेज न्युज बन्न सकेनन् । बनेपनि डलरको खेतीपातीलाई जोड्ने, गोड्ने काम भयो । ५० रुपैयाँ दिएर एउटी बालिका बलात्कृत हुँदा अहँ कहिले दुखेन यो सरकारलाई । न त सुदुरको सीमा मिचिंदा नै यो सरकार बोल्न सक्यो ।

समस्या हरु धेरै छन्, समाधानका लागि बहस आवश्यक छ । औपचारिकताका लागि मात्र होइन, परिवर्तनका लागि बहस आवश्यक छ । त्यसैले हामी ‘कालोपाटी ‘ लिएर तपाईंहरु समक्ष आएका छौं । सुदुरपश्चिम प्रदेशमा सर्वाधिक लोकप्रिय कार्यक्रम कालोपाटीको अनलाइन संस्करणका रुपमा आएको कालोपाटी डटकम फगत दिनानुदिन घट्ने घटनाक्रमलाई समाचार बनाउने अनलाइन मात्र होइन, बरु हरेक घटनाभित्रको सत्यता खोजेर समाधान निकाल्नेगरी बहस छेड्ने सञ्चारमाध्यम बनाउने प्रयासमा हामी छौँ ।

इतिहास साक्षी छ, कायरहरुले रेडियोमाथि भौतिक आक्रमण गरे, पत्रकार थर्काए, रिपोर्टर हप्काए । कालोपाटी डटकम ती कायरहरुका लागि चुनौती पनि हो । ‘डे वान’ मा हामीलाई धेरै भन्नु छैन । बस् तपाईं भगवानरुपी पाठक र स्रोताको सदाझैं साथ पाईरहौं । हाम्रो यो सुरुवातलाई गन्तब्यसम्म पुर्याउन तपाईंहरुको साथबाहेक अरु सब मित्था छन् ।

नवराज धानुक

प्रधान सम्पादक तथा प्रकाशक

Ad

RELATED POSTS

YOUR FEEDBACK: