बाँझो जग्गामा चक्लाबन्दी गरि कृषिउपजको व्यावसायिक खेती सुरु, किसानलाई लाभ पुर्याउने उद्देश्य

Ad
  • Kalopati

बागलुङ । वर्षौंदेखि बाँझो पल्टिएको जग्गालाई चक्लाबन्दी गरी कृषिउपजको व्यावसायिक खेती थालिएको छ । गलकोट नगरपालिका–४ निलुवामा छरिएर रहेको खेतीयोग्य जग्गालाई एकीकरण गरी कृषि उत्पादन सुरु गरिएको हो । गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालयको आर्थिक सहयोगमा स्थानीय सयपत्री बहुउद्देश्यीय सहकारी संस्था लि ले गत फागुनमा निलुवामा चक्लाबन्दी कार्यक्रम सुरु गरेको थियो ।

सहकारीका अध्यक्ष चिन्तामणि शर्माले १२४.२६ रोपनी जग्गा चक्लाबन्दी गरी कृषि बाली लगाउन सुरु गरिएको बताए । “६० रोपनीमा आलुखेती गरेका छौँ, अरु जग्गामा तरकारी, बीउबिजन र अन्नबालीको लगाउँदैछौँ”, उनले भने , “कृषि ज्ञान केन्द्रमार्फत खेती विशेष कार्यक्रम पनि सुरु हुँदैछ ।” सहकारीले स्थानीय ७३ किसानको जग्गालाई चल्काबन्दी गरी एकीकृत गरेको हो । जसबाट २०० बढी गरामा बाँडिएको जग्गा १७ ‘प्लट’मा झरेको छ । सहकारीले प्रतिरोपनी वार्षिक रु दुई हजार तिर्ने गरी आउँदो २०९० सालसम्मलाई जग्गा भाडामा ल्याएको हो ।

जग्गा चक्लाबन्दी कार्यक्रमका लागि मन्त्रालयले रु ३६ लाख ४९ हजार अनुदान दिएको थियो । मर्मतसुधार, सिँचाइ आदिका लागि आउँदो आवमा पनि प्रतिरोपनी पाँच हजारका दरले मन्त्रालयबाट सहयोग आउने सहकारीले जनाएको छ । यस्तै ७५ प्रतिशत अनुदानमा ट्र्याक्टर पनि उपलब्ध हुने भएको छ । “प्रदेश सरकार र जग्गाधनी किसानको सहयोगमा चक्लाबन्दी खेतीले सार्थकता पाउँदैछ, यसै बाँझो भएर बसेको जग्गामा व्यावसायिक कृषि सुरु भएको छ”, सहकारीका अध्यक्ष शर्माले भने , “खेर गइरहेको जग्गा प्रयोगमा आएपछि किसान पनि खुसी छन् ।” तरकारीजन्य उत्पादनतर्फ आलुसँगै मुला, सिमी, सागलगायतको खेती गर्ने योजनामा सहकारी छ ।

माटो परीक्षणपछि कृषि क्षेत्रका प्राविधिकले दिएको सुझावका आधारमा यामअनुसारको खेतीपाती गरिने भएको छ । माटो परीक्षणमा सूक्ष्म जैविक तत्वको कमी पाइएकाले यही वर्ष एक सय ट्र्याक्टर गोठे मल हालिने सहकारीले जनाएको छ । माटोमा अम्लीयपन भने नभएको पाइएको छ । निलुवा पशुपालन र खेतीपातीका लागि उर्बर ठाउँ हो । त्यसलाई पहिलेपहिले गोठथरीका रुपमा चिनिन्थ्यो । किसान पशुचौपाया लगेर महिनौँसम्म त्यही गोठथरीमा बस्थे । खेतीपाती गर्थे । पछिल्लो समय भने त्यो चलन हराउँदै गयो । जसका कारण बारी बाँझै पल्टिए । गोठ रित्तिए । निलुवामा ८० भन्दा बढी परम्परागत खरका गोठ छन् ।

परम्परागत कृषि प्रणालीको झल्को दिने पुराना संरचनालाई संरक्षण गर्ने योजना पनि सहकारीले अघि सारेको छ । जग्गा चक्लाबन्दीमा क्रममा जीर्ण अवस्थामा रहेका १५ वटा गोठ नासिएको जनाइएको छ । वैदेशिक रोजगार, बजारमा निर्भरता, श्रमको अभावजस्ता कारणले कृषिमा आकर्षण घटेका बेला चक्लाबन्दी कार्यक्रमले गाउँका किसानलाई लाभ पु¥याउने गलकोट नगरपालिकाका कृषि शाखा प्रमुख हरिदत्त सुवेदीले बताए । धेरै कित्ता र स्वामित्वमा बाँडिएको जग्गामा ठूलो लगानीको कृषि व्यवसाय गर्न कठिनाइ हुने उनको भनाइ छ । “चक्लाबन्दी गरेर जग्गालाई एकीकृत गर्दा भूमिको सदुपयोग बढ्नुका साथै कृषि उत्पादनमा वृद्धि हुन्छ, यसबाट किसानको आयआर्जन थपिन्छ र रोजगारी पनि सिर्जना हुन्छ”, प्रमुख सुवेदीले भने ।

नगरप्रमुख भरत शर्मा गैरेले व्यावसायिक कृषि उत्पादनको केन्द्रसँगै निलुवालाई पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्न लगानी र पहल भइरहेको बताए । नगरपालिकालगायतको सहयोगमा निलुवा पर्यटकीय क्षेत्र प्रवद्र्धन केन्द्रले त्यहाँ पूर्वाधार निर्माण र प्रवद्र्धनका काम गरिरहेको छ । केही वर्षअघि त्यहाँ मह शिकार महोत्सवकोसमेत आयोजना गरिएको थियो । निलुवामा ५०० मिटर अग्लो महभिर छ । रैथाने वास्तुशैलीका गोठ, मनोरम भू–बनोट, लोभलाग्दो हावापानी र हिमाली दृश्य निलुवाका आकर्षण हुन् । –रासस

Ad

RELATED POSTS

YOUR FEEDBACK: