दार्चुला घटनाको छानबिन प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्ने गृहमन्त्रीको प्रतिबद्धता

Ad
  • Kalopati

दार्चुला ।  गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलाको जयसिंह धामी बेपत्ता भएको तुइन प्रकरणको छानबिन प्रतिवेदन यथाशीघ्र आउने बताउनुभएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सदस्यहरुले उठाएको जिज्ञासाको जवाफ दिने क्रममा उहाँले घटनाको मन्त्रालयद्वारा गठित समितिले गम्भीर रुपमा छानबिन गरिरहेको बताउनुभयो । उहाँले केही सदस्य काम विशेषले बाहिर जाँदा प्रतिवेदन तयार हुन ढिलाइ भएकोसमेत जानकारी दिनुभयो ।

गृहमन्त्री खाँणले विसं २०५० देखि अहिलेसम्म उक्त जिल्लामा तुइनबाट खसेर २६ जनाको दुखद निधन भएको पनि जानकारी गराउनुभयो । उहाँले महाकाली नदीमाथिको तुइन हटाएर पुल निर्माणका लागि पनि निर्देशन भइसकेको समितिलाई जानकारी गराउनुभयो । “नागरिकको ज्यान जोगाउनु राज्यको दायित्व हो, नागरिकको जीवन रक्षाका लागि सरकार हिजो पनि गम्भीर थियो, आज पनि छ र भोलि पनि हुनेछ”, उहाँले भन्नुभयो ।

गृहमन्त्री खाँणले नेपाल प्रहरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको नजिक पुगिसकेको र अनुसन्धानले पूर्णता पाएपछि सार्वजनिक हुने जानकारी पनि गराउनुभयो । उहाँले कालाबजारी, पुन मिति टाँसेर खाद्यपदार्थ बिक्री गर्ने अवस्थाको अन्त्य र साना मान्छे पक्राउ पर्ने र मूल मान्छे छुट्ने अवस्था नहोस् भन्नेमा सरकार गम्भीर रहेको बताउनुभयो । उहाँले कुनै पनि खाद्य पदार्थ आवश्यकताभन्दा बढी आयात भएको छ भने त्यसमा सम्बन्धित अधिकारीसँग छलफल गर्ने समेत आश्वासन दिनुभयो ।

गृहमन्त्री खाँणसहित गृहसचिव टेकनारायण पाण्डे र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री उपस्थित समितिको बैठकमा सांसदहरुले उक्त घटनाको सत्यतथ्य सार्वजनिक गर्न र दोषीलाई कारवाहीको दायरामा ल्याउने सन्दर्भमा ढिलाइ भएरहेकोतर्फ ध्यानाकर्षण गराउनुभएको थियो ।

उहाँहरुले कालोबजारी नियन्त्रण र मितिसकिएको खाद्य पदार्थमा पुनः मिति राखेर बिक्री गर्ने कार्य नियन्त्रण गर्न पनि आग्रह गर्नुभएको थियो । बैठकमा सत्तारुढ नेपाली कांग्रेसका देवेन्द्रराज कँडेलले कालोबजारी गर्ने र अखाद्य वस्तुमा नयाँ मिति राखेर बिक्री गर्ने प्रवृत्ति बढ्दो क्रममा रहेकाले नियन्त्रणका लागि गृहमन्त्रीको ध्यानाकर्षण गर्नुभएको थियो ।

नेपाली कांग्रेसका मीना पाण्डे र दीलेन्द्रप्रसाद बडूले पनि दार्चुला घटनाका विषयमा सरकारले निडरताका साथ छानबिन गर्नुपर्ने र छिटो सत्यतथ्य सार्वजनिक गर्नुपर्नेमा जोड दिनुभयो । यस्तै सोही पार्टीका अमरेशकुमार सिंहले राजनीतिक मिलेमतोका कारण मुलुकमा कालोबजारीका घटना हुने गरेको भन्दै त्यसतर्फ गम्भीर हुन आग्रह गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र) का रेखा शर्मा र यशोदा गुरुङ सुवेदीले दार्चुला घटनाको सम्बन्धमा भएको छानबिन प्रतिवेदन सार्वजनिक गर्न भइरहेको ढिलाइले दोषीलाई कारवाही हुने अवस्थामाथि नै आशङ्का उब्जिएको छ भन्नुभयो ।

साँसद सुवेदीले सुरुमा सरकारको पहलकदमी महत्वपूर्ण भए पनि पछिल्लो समयमा कमजोर प्रदर्शन भइरहेको बताउनुभयो । साँसद शर्माले निर्मला पन्तको बलात्कारपछि भएको हत्याका दोषी पत्ता लाग्न नसक्दा समग्र नेपालीको नै शिर निहुरिएको बताउँदै गम्भीर प्रकृतिका घटनामा संवेदनशील हुन गृहमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । सोही पार्टीका महेश्वर जङ गहतराजले दार्चुलाको घटना छानबिन प्रक्रिया ढिलाइ भएको भन्दै तत्काल सत्यतथ्य सार्वजनिक गर्न माग गर्नुभयो ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का महेश बस्नेतले दार्चुला घटनाका विषय दुई देशबीच छलफल गर्नुपर्ने भए पनि सरकार किन मौन भनी प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, “समाजमा केही घटना घट्यो भने प्रहरीको खोजी किन हुँदैन, सामाजिक अभियन्ता र युट्युवरको खोजी हुन्छ किन रु कानून कार्यान्वयन गर्ने निकाय कहाँनिर चुक्यो, गम्भीर हुनुपर्ने बेला आएको छ ।”

समितिका सदस्य नेकपा (एकीकृत समाजवादी) का झपटबहादुर रावलले दार्चुला घटनामा जयसिंह धामी बगेको नभइ बगाएको र खसेको नभइ खसाइएको हो, भन्नुभयो । उहाँले खुला सीमानाका कारण नेपालमा आपराधिक गतिविधि बढ्दो रहेको दाबी गर्नुभयो । नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले दार्चुला घटनाको छानबिन प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ भएको प्रति असन्तुष्टि व्यक्त गर्नुभयो ।-रासस

Ad

RELATED POSTS

YOUR FEEDBACK: