तीस करोडको लागतमा कारागार भवन बनाईदै, कैदीबन्दीको जीवन सुरक्षा गर्ने लक्ष्य

Ad
  • Kalopati

विराटनगर । विराटनगर महानगरपालिकाको हाटखोलामा अत्याधुनिक जिल्ला कारागार भवन निर्माण गर्न लागिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले निर्माणाधिन भवन शिलान्यास गर्दै यसको गुणस्तरमा ध्यान दिन र निर्धारित समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो । उहाँले भवनमा बस्ने कैदीबन्दीको जीवन सुरक्षा गर्नु राज्यको दायित्व भएकाले निर्माणमा कुनै कमी कमजोरी हुन नहुनेमा जोड दिनुभयोे ।

मूल्य अभिवृद्धि करबाहेक ३० करोड ८३ लाखको लागतमा निर्माण गर्न लागिएकोे सो भवन आशिष, आशीर्वाद, स्वामी नारायण जेभीले बोलपत्र कबुल गरेको छ । विसं २०८० पुस २४ गतेभित्र निर्माण गरिने सो भवन ३६ हजार ८८३ वर्गफिटको हुने सङ्घीय आयोजना कार्यान्वयन एकाइका प्रमुख गङ्गाप्रसाद यादवले जानकारी दिनुभयो ।

कूल १० कठ्ठा १० धुर जग्गामा निर्माण गर्न लागिएको सो भवनमा महिला र पुरुष कैदी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, प्रशासन, कारागार प्रमुख, चमेनागृह र आगन्तुकका लागि अलग–अलग कक्ष रहने छ । भवन निर्माणका लागि शहरी विकास मन्त्रालयले बजेट उपलब्ध गराएको थियो ।

हाल जिल्ला कारागार भएकै ठाउँमा बन्ने सो भवनमा महिला कैदीका लागि ८८ शैया र पुरुष कैदीका लागि २५० शैया हुनेछ । हाल पुरानो कारागारमा ७१ महिलासहित ९२९ कैदीबन्दी रहेको कारागार प्रशासनका कर्मचारी रामप्रसाद पोखरेलले जानकारी दिनुभयो । नयाँ भवन बनेपछि पनि पुरानो भवनलाई कैदीबन्दीकै लागि प्रयोग गरिने भएको छ । कारागारको कूल क्षेत्रफल तीन बिघा जग्गा छ । सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले नयाँ भवन कैदीबन्दीका लागि निकै सहज हुने बताउनुुभयो । निर्माण कम्पनीका प्रमुख केशर बुढाथोकीले राज्यले लगानी गरेको यस प्रकारको भौतिक सम्पत्तिमा कुनै कमी हुन नदिने र निर्धारित समयमै भवन निर्माण गरिने प्रतिबद्धता जनाउनुभयो ।-रासस

Ad

RELATED POSTS

YOUR FEEDBACK: