राष्ट्रियताको पक्षमा डा.केसी, मिचिएको भुमि फिर्ता गर्ने मागसँगै गरे २ दिने अनसनको घोषणा

डाक्टर केसी
Ad
  • Kalopati

दार्चुला, जेठ १२ ।
नेपाली भूमि फिर्ता गर्ने प्रक्रिया तत्काल सुरू गर्न माग गर्दै डाक्टर गोविन्द केसीले सत्याग्रह घोषणा गरेका छन् । सोमबार विज्ञप्ति निकालेर केसीले जेठ २० गतेदेखि दुई दिन सत्याग्रह गर्ने घोषणा गरेका हुन् । राष्ट्रवादको बहकिएको बहसलाई सही ठाउँमा ल्याउन र भारतबाट मिचिएका भूमि फिर्ता गर्ने प्रक्रिया सुरू गर्न सत्याग्रह घोषणा गरेको उनले उल्लेख गरेका छन् ।

‘राष्ट्रवादको बहकिएको बहसलाई सही ठाउँमा ल्याउन तथा सीमाञ्चलका मानिसहरूको पीडाप्रति राज्यको ध्यानाकर्षण गराउँदै त्यहाँको शिक्षा, स्वास्थ्य, यातायात र जीविकाको उचित व्यवस्था गर्न तथा नेपालको सार्वभौमसत्ताको रक्षा गर्दै भारतबाट मिचिएको नेपाली भूमि फिर्ता गर्ने प्रक्रिया तत्काल सुरू गर्न माग गर्दै हामीले यही जेठ २० गतेदेखि दुई दिने सत्याग्रह गर्ने घोषणा गर्दर्छौं,’ उनले भनेका छन् । साथै डाक्टर केसीले हालसम्म सरकारले आफूसँग गरेका माग पूरा हुनुपर्ने बताएका छन् ।

‘हामीसँग हालसम्म भएका सबै माग पूरा गर्न, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठताका आधारमा डिनलगायतका पदाधिकारी नियुक्ति लगायतका सम्झौता कार्यान्वयन गर्न तथा गण्डकी प्रदेशलगायत डडेल्धुरा, बर्दिवास, उदयपुर, इलाम लगायतका ठाउँमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया द्रुत गतिमा अघि बढाउन माग गर्दछौं,’ उनले भनेका छन् । उनले सरकारको भूमिका र औचित्यबारे पनि प्रश्न उठाएका छन् ।

‘नागरिकको जीविका सहज बनाइदिन पनि नसक्ने, तिनको शिक्षा र स्वास्थ्यको प्रबन्ध पनि गर्न नसक्ने अनि अर्काले आफ्नो भूमि हडपेर सडकलगायतका संरचना बनाइसकेपछि मात्रै थाहा पाउने हो भने यो सरकारको भूमिका र औचित्य के भन्ने प्रश्न उठेकाबारे पनि सम्बन्धित सबैको ध्यानाकर्षण गराउँछौं,’ दार्चुलामा रहेका डाक्टर केसीले विज्ञप्तिमार्फत् भनेका छन् । (सेतोपाटीबाट साभार)

Ad

RELATED POSTS

YOUR FEEDBACK: