आलु खेतीमा विज्ञ पाएपछि किसान हर्षित

Ad
  • Kalopati

स्याङ्जा । धान काटेर थन्क्याएपछि आलु लगाउने बेला हो यो । अहिले किसान आलु लगाउने खेतको तयारी गरिरहेका छन् । तर कतिपयमा आलु कसरी लगाउने, कुन जातको लगाउने, कसरी खन्ने, बीउ कुन अवस्थाको भएपछि लगाउने भन्ने पूर्ण ज्ञान नभएकाले आशा गरिएअनुरुप उत्पादन नहुने भएकाले उत्पादनमा जोड दिनका लागि खेतमै आलु विज्ञमार्फत प्रयोगात्मक ज्ञान दिइएको छ ।

नेपाल कृषि अनुसन्धान परिषद नार्कका पूर्व वरिष्ठ वैज्ञानिक तथा आलु विज्ञ डा भीमबहादुर खत्रीले किसानका खेतमै पुगेर आलु खेतीकाबारेमा प्रयोगात्मक ज्ञान दिएका हो । स्याङ्जाको वालिङ नगरपालिकाभित्रका किसानले समूहमा र व्यक्तिगतरुपमा आलुखेती गर्दै आएका छन् ।

सामूहिक वा व्यक्तिगतरुपमा आलुखेती गर्नेका लागि वालिङ नगरपालिका, युएनडिपी नेपालको साझेदारी तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालन भइरहेको ‘कोभिड– १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य पहल परियोजना’ अन्तर्गत व्यावसायिक तालीम खेतीसम्बन्धी जानकारी दिने उद्देश्यले खेतमै पुगेर प्रयोगात्मक तालिम दिइएको हो ।

“यहाँका किसानले सामूहिक र व्यक्तिगतरुपमा आलुखेती गर्दै आएका छन् । परियोजना वालिङका प्रमुख राधाकृष्ण डुम्रेले भने ,“परम्परागत तबरले निर्वाहमुखीरुपमा आलुखेती गर्दै आएका किसानलाई व्यावसायिक बन्नका लागि प्रयोगात्मक सिकाइ निक्कै लाभदायी भएको महसुस गरेको छु ।” किसानले आलु लगाउनका लागि तयार पारेको खेतमै पुगेर विभिन्न पाँचवटा सहकारी संस्थाका किसान तथा व्यवसायिकरुपमा आलु उत्पादनतर्फ उन्मुख भएका ५० जना किसानले यसबाट लाभ लिएका परियोजना प्रमुख डुम्रेले बताए ।

वालिङ ६ मिर्दीका किसान आलु विज्ञलाई आफ्नै खेतमा पाउँदा निक्कै खुसी देखिएका थिए । यहाँका महिलाले गतिशील किसान समूह गठन गरी केही वर्ष पहिलेदेखि सामूहिकरुपमा आलु, काउली, बन्दालगायतका मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै आएका छन् । “गतवर्ष पनि हामीले समूहमार्फत आलुखेती गरेका थियौं”, समूहका संयोजक शान्ति तिवारीले भने “हामीले जसरी जान्यौं त्यसरी नै लगाउने गरेका थियौं पूर्ण ज्ञानको अभावमा भनेजति उत्पादन लिन सकेका थिएनौं, अहिले भने आलु विज्ञमार्फत खेतमै प्रयोगात्मक विधि जान्ने अवसर प्राप्त भयो, जसका कारण हामी निक्कै खुसी छौं ।”

वालिङ नगरपालिका, युएनडिपी नेपाल र दियालोको सहयोगमा गतवर्ष पनि वालिङका विभिन्न ठाउँमा समूह तथा सहकारीमार्फत आलुखेती गर्नेका लागि शतप्रतिशत अनुदानमा आलुको बीउ उपलब्ध गराइएको थियो ।

उक्त समूहले गतवर्ष उत्पादन गरेको आलु वर्गिकरण गरी बीउका लागि छुट्ट्याएर अरु आलु बिक्री गरेको थियो । यहाँ उत्पादन भएको आलुलाई शीतभण्डारमा सुरक्षित राखेर फेरि सोही आलुलाई बीउका रुपमा प्रयोग गरिएको संयोजक तिवारीको भनाइ थियो ।
–रासस

Ad

RELATED POSTS

YOUR FEEDBACK: