७०औँ विश्व कुष्ठरोग दिवस कार्यक्रम मनाइँदै

Ad
  • Kalopati

‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँ’ भन्ने मुख्य नाराका साथ आज ७०औँ विश्व कुष्ठरोग दिवस कार्यक्रम विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

कुष्ठरोग आँखाले देख्न नसकिने ‘माइको व्याक्टेरियम लेप्रे’ नामको सुक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो । धेरै मानिसलाई कुष्ठरोगको पहिलो लक्षणको रुपमा छालामा फिक्का दाग आउनु वा औँलाहरु सुनिने गर्दछ । चिकित्सकका अनुसार कुष्ठरोगले मुख्यतया स्नायु र छालालाई असर गर्दछ । समयमा उपचार नगरिएमा, यसले स्नायु क्षति, अनुभूति (सनसनी) गुमाउने र हात, खुट्टा र अनुहारको मांसपेशिको पक्षाघात गराउन सक्छ । विश्वका सय भन्दा बढी देशमा वार्षिक दुई लाखभन्दा बढी व्यक्तिलाई कुष्ठरोगको लक्षण देखिने गरेको छ । सरकारले सन् २०१० को जनवरीमा कुष्ठरोग निवारण भएको घोषणा गरे पनि अहिलेसम्म नेपालमा पूर्ण रुपमा कुष्ठरोग निवारण भने भइसकेको छैन ।

आर्थिक वर्ष २०७९÷८० मा नेपालमा दुई हजार २८५ नयाँ कुष्ठरोगका बिरामी भेटिएका छन् । नयाँ भेटिएका बिरामीमध्ये मधेस प्रदेशमा सबैभन्दा धेरै कुष्ठरोगका विरामी रहेका छन् । सरकारी तथ्याङ्कअनुसार मधेस प्रदेशमा नौ सय १० जना, लुम्बिनी प्रदेशमा पाँच सय ८१ जना, प्रदेश नं १ मा तीन सय ४५ जना, सुदूरपश्चिम प्रदेशमा दुई सय पाँच जना, कर्णाली प्रदेशमा ६८ जनालाई कुष्ठरोग भेटिएको छ । गण्डकी र बागमती प्रदेशमा भने अन्य प्रदेशको तुलानामा कुष्ठरोगीको सङ्ख्या कम रहेको छ ।

१६ जिल्ला अझै कुष्ठरोग मुक्त हुन बाँकी रहेको छ । जसमा झापा, मोरङ, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, परासी, रुपन्देही, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र अछाम रहेका छन् । मधेस प्रदेशको सप्तरीबाहेक सबै जिल्लामा अहिले कुष्ठरोगका बिरामी रहेको तथ्याङ्क छ ।

नेपालमा रहेका कूल कुष्ठरोगीमध्ये मधेस प्रदेशमा मात्र ४० प्रतिशत कुष्ठरोगी भेटिएका हुन् । मधेस प्रदेशमा धेरै कुष्ठरोगी भेटिएसँगै यतिबेला कुष्ठरोगसँग काम गर्ने सरकारी तथा गैरसरकारी संस्था मधेस केन्द्रित हुन थालेका छन् । सन् १९७५ देखि नेपालको कुष्ठरोग क्षेत्रमा काम गर्दै आएको एनआरएल नेपालले अहिले मधेस प्रदेशको महोत्तरी र धनुषा जिल्लामा कुष्ठरोगको क्षेत्रमा काम गर्दै आएको छ । एनआरएल नेपालले कुष्ठरोग नियन्त्रण (पेप प्लस प्लस) कार्यक्रमअन्तर्गत महोत्तरी र धनुषा जिल्लाका ३३ स्थानीय तहमा कुष्ठरोगका बिरामीसँगका सम्पर्क व्यक्तिको पहिचान गर्नुका साथै उनीहरुलाई सचेतनामूलक कार्यक्रम तथा औषधि वितरण गर्दै आएको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: