सरकारलाई सफल बनाइन्छ : अध्यक्ष ओली

oli
Ad
  • Kalopati

पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई सफल बनाइने बताएका  छन्  । एमालेको संसदीय मामिला विभागले संसदीय अभ्यासबारे जानकारी गराउन आज यहाँ आयोजना गरेको ‘नेपालमा संसदीय प्रक्रिया तथा कानुन तर्जुमा’ विषयक अभिमुखीकरण कार्यक्रममा उहाँले राजनीतिक, नीतिगत र व्यावहारिक हिसाबले सरकारलाई सफल बनाइने बताए  ।

यो सरकारलाई सफल बनाउन चाहान्छौँ”, अध्यक्ष ओलीले भने , “सरकारलाई हामीले उपयुक्त ढङ्गले मार्गनिर्देश गर्छाैँ । सरकारले सही नीति लेओेस्, भ्रष्टाचार नगरोस् र सुशासन तथा विकास गरेर सक्रियताका साथ अघि बढोस ।” उहाँले यही पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मतसमेत पाउने बताए  ।

अध्यक्ष ओलीले संसद् अधिवेशन सुरु हुने दिन तथा प्रधानमन्त्री दाहालले विश्वासको मत पाउने दिन संसद् भवनमा समयमा नै प्रवेश गर्न सांसदहरुलाई निर्देशनसमेत दिए  । एमाले संसदीय दलका नेतासमेत रहनुभएका अध्यक्ष ओलीले केही बाहिरी तत्वले अहिलेको सरकार ढाल्न खोजिरहेको उल्लेख गर्दै त्यो पूरा नहुने बताए  । उनले  अहिलेको सरकारले छिमेकी देशसँग सुमुधुर र पारस्परिक सम्बन्ध राखेर अगाडि बढ्ने बताए  ।

हामी विदेशी हस्तक्षेप रुचाउँदैनौँ”, अध्यक्ष ओलीले भने  । उनले  सांसदहरुलाई गर्नुपर्ने काम प्राथमिकतामा राखेर गर्नुपर्ने निर्देशन दिए  । उनले  संसद्को अभ्यासमा भाग लिन नभ्याउने तथा बाहिर बाहिर जानेजस्ता काम नगर्नसमेत सचेत गराए  । अध्यक्ष ओलीले जनताले अनुमोदन गरेर संसद्मा पठाएकाले सांसदहरुलाई जनताका पिरमर्काबारे संसद्मा आवाज उठाउन आग्रह गरे  ।

कार्यक्रममा एमाले संसदीय मामिला प्रमुख डा शिवमाया तुम्बाहाम्फेले नवनिर्वाचित सांसदले दलको निर्देशनलाई मानेर अगाडि बढ्नुपर्ने बताए  । उनले  संसद्मा खेल्नुपर्ने भूमिकालाई उल्लेखनीयरुपमा प्रस्तुत गर्नुपर्नेमा जोड दिए  ।

विभागका सदस्य खिमलाल भट्टराईले संसद्मा एमालेको भूमिकालाई सांसदहरुले प्रभावकारी बनाउनका लागि अभिमुखीकरण गरिएको बताए  । उनका  अनुसार दुई दिनसम्म चल्ने अभिमुखीकरण कार्यक्रममा नेपालको संसदीय अभ्यास र संसदीय प्रणालीका बारेमा जानकारी गराइनेछ । कार्यक्रममा एमाले उपाध्यक्ष सुभासचन्द्र नेम्वाङले संविधान, संसदीय प्रक्रिया र सांसदको प्रभावकारी भूमिका तथा संसद् सचिवालयका सचिव सुदर्शन खड्काले सङ्घीय संसद् सचिवालय र सांसदको अन्तरसम्बन्ध, पूर्वमन्त्री माधव पौडेलले कानुनतर्जुमा प्रक्रियामा सांसदको भूमिका, प्रशासनविद् काशीराज दाहालले संसदीय समितिको प्रभावकारिता र सांसदको भूमिका तथा पूर्वसचिव शिशिर ढुङ्गानाले भौतिक तथा मानवीय विकासमा सांसदको भूमिकाका बारेमा प्रशिक्षण दिनुहुनेछ । अभिमुखीकरण आइतबारसम्म चल्नेछ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: