ट्रयाक खोलिएको झण्डै तीन दशकपछि कालोपत्र, तोकिएको समय अगावै काम सम्पन्न गर्न आग्रह

Ad
  • Kalopati

सुर्खेत । ट्रयाक खुलेको झण्डै तीन दशकपछि पश्चिम सुर्खेतको बड्डीचौर–विद्यापुर–बेनीघाट सडक खण्ड कालोपत्र हुने भएको छ । मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने उक्त खण्ड प्रदेश सरकारको लगानीमा स्तरोन्नति गर्न लागिएको हो । यो पश्चिम सुर्खेतको मुख्य सडकमा पर्दछ ।

वर्षौंसम्म सडक स्तरोन्नति नहुँदा पश्चिम सुर्खेतका बासिन्दाले सास्ती भोग्दै आएका थिए । विसं २०५१ सालमा उक्त सडक खण्डको ट्रयाक खोलिएको थियो । पूर्वाधार विकास निर्देशनालयले प्रदेश सरकारको रु ४२ करोड ४७ लाख ६१ हजार लागतमा बड्डीचौरदेखि खम्बागाडेसम्म १२ किमी सडक कालोपत्र गर्न लागेको जनाएको छ । बड्डीचौरलाई शून्य विन्दु मानेर दुई वर्षअघि सडकको विस्तृत परियोजना प्रतिवेदन डिपीआर बनिसकेको थियो ।

पूर्वाधार विकास निर्देशनालयले कालोपत्रका लागि निर्माण कम्पनी एएनके जयदेवी जेभी बाँकेसँग सम्झौता गरिसकेको छ । सम्झौताअनुसार २०८१ असार २४ गतेसम्म सडक कालोपत्रको काम सम्पन्न गर्नुपर्नेछ । यही साउन ४ गते सोही क्षेत्रका प्रदेशसभा सदस्यसमेत रहेका कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले सडक स्तरोन्नति कार्यका शिलान्यास गरेका थिए । मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेतको पश्चिम खण्डमा ९४ किलोमिटर सडक पर्दछ ।

राजमार्ग आयोजनाले काममा ढिलासुस्ती गरेपछि उक्त खण्डमा पर्ने करिब १३ किमी सडक प्रदेश सरकारले स्तरोन्नति गर्न थालेको हो । मन्त्री बुढाक्षेत्रीले जीर्ण र कच्ची सडकका कारण यात्रुले सास्ती पाएको भन्दै तोकिएको समय अगावै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गरेका थिए । निर्माण व्यवसायी दिक्पाल शाहीले ट्रयाक सुधार, नाली निर्माणलगायतका काम पूरा गरेपछि कालोपत्रको तयारी गर्ने बताएका छन् । –रासस

Ad

RELATED POSTS

YOUR FEEDBACK: