खबरा र हाडेभिरमा सडक कालोपत्र, ट्राफिक सङ्केत चिह्न राखेर हस्तान्तरण गर्ने तयारीमा

Ad
  • Kalopati

बेनी । बेनी नगरपालिका–२ खबरा र हाडेभिरमा सडक कालोपत्र भएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीले बागलुङ–बेनी सडकको अन्तिम खण्डमा पर्ने खबरा र हाडेभिरमा कालोपत्र गरेको हो । करिब २० किलोमिटर दूरीको बागलुङ–बेनी सडकको तीन किलोमिटर ८०० मिटर दूरीको भुवाने–हुलाकेबाहेक सबै ठाउँमा कालोपत्र भएको छ । खबरा र हाडेभिरमा सडक कालोपत्र गर्न बिरुवा–सिमरन जेभीले विसं २०७७ साउनमा करसहित रु पाँच करोड ४३ करोड ३७ हजार ५९९ मा ठेक्का सम्झौता गरेको थियो ।

कोरोना कारण र सार्वजनिक खरिद ऐनमा भएको संशोधन अनुसार यही असारसम्म थपिएको थियो । निर्माण कम्पनीका प्रतिनिधि प्रदीप सापकोटाले एक किलोमिटर २०० मिटर सडक कालोपत्र गर्ने काम बिहीबार सकिएको जानकारी दिए । भत्किएको नाली सफा र पर्खाल मर्मत तथा ट्राफिक सङ्केत चिह्न राखेर हस्तान्तरण गर्ने तयारीमा छौँ, उनले भने , हाडेभिरको पहाड काटेको ठाउँमा ढलान भएको छ । कच्ची, साँघुरो र ग्रेड तथा घुम्ती नमिलेको सडकलाई कम्तीमा सात मिटरका दरले कालोपत्रे गरिएको छ । पहिरो रोकथामका लागि पर्खाल र भलबाढी व्यवस्थापन गर्न नाली बनाइएको छ ।

हाडेभिरको पहाड काटेर सडक विस्तार गर्न स्थानीय प्रशासनसँग समन्वय गरी समय तालिका बनाएर यातायात सञ्चालन गरिएको थियो । सदरमुकाम नजिकै भए पनि हाँडेभिर र खबराको सडक बर्खामा हिलाम्मे तथा हिउँदमा धुलाम्मे हुने समस्या थियो । कालोपत्र भएपछि सहज र सुरक्षितरुपमा यात्रा गर्न पाएको खबराका बासिन्दा कमल सुवेदीले बताए । हिलो र धुलोबाट मुक्ति मिलेको छ, उनले भने , भसभसेको पहिरो नियन्त्रण गर्न सकेमा यो सडक दिगो हुने थियो । पूर्वाधार विकास कार्यालय म्याग्दीका निमित्त प्रमुख गुरुदत्त अधिकारीले निर्माण व्यवसायीले डिबिएसडी प्रविधिको कालोपत्र भएको बताए ।

कामको मूल्याङ्कन, अनुगमन र नापचाँज गरेपछि हस्तान्तरण हुन्छ, उनले भने , मौसमले साथ दियो र निर्माण व्यवसायीले निर्माण सामग्री, उपकरण र मजदुर व्यवस्थापन गर्न सकेकाले कालोपत्र गर्न सकियो । बागलुङ–बेनी म्याग्दी र मुस्ताङ जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक सडक हो । यो सडकको विसं २०५२ मा मार्ग खुलेको थियो । बागलुङको रामरेखाबाट दश वर्षअघिदेखि सडक कालोपत्र गर्न थालिएको थियो । ९२ प्रतिशत भौतिक प्रगति भएको भुवाने–खबरा खण्डका निर्माण व्यवसायी दुई वर्षपछि काममा फर्किए पनि यसपालि पूर्णाता नपाउने देखिएको छ ।

रत्नेचौरदेखि खबरासम्मको सडक कालोपत्रे नसकिँदै लकडाउन बन्दाबन्दी भएर विसं २०७६ चैत महिनादेखि रोकिएको थियो । रु १३ करोड १५ लाखमा नागार्जुन देव एण्ड सायर बिएन जेभीले ठेक्का लिएको थियो । विसं २०७६ माघमा सातदेखि दश मिटर फराकिलो बनाएर विस्तार भएको सडकमा पहिलो चरणको डिबिएसडी प्रविधिको कालोपत्रे बिछ्याइएको थियो । कोरोना भाइरसको महामारी फैलिएपछि सोही सालको चैतमा गर्ने भनिएको दोस्रो चरणको कालोपत्रे हुन सकेन । बर्खामा पहिरोले तीन ठाउँमा सडक भासियो । धेरै ठाउँमा नाली पुरिएको र कालोपत्र उप्किएको छ । पहिरो पन्छाउने र मर्मतसँगै दोस्रो चरणको कालोपत्र गर्न उपकरण र निर्माण सामग्री परिचालन भए पनि पूर्णता पाउन केही समय लाग्ने भएको हो । –रासस

Ad

RELATED POSTS

YOUR FEEDBACK: