पर्यटकीय सवारी साधनका लागि बसपार्क नहुँदा सडकमै पार्किङ गर्ने बाध्य, व्यवसायीहरु समस्यामा

Ad
  • Kalopati

काठमाडौं । मुलुकको सङ्घीय राजधानी काठमाडौंमा पर्यटक बोक्ने सवारी साधनका लागि छुट्टै बसपार्क नहुँदा पर्यटकीय बस विभिन्न स्थानमा रहन बाध्य भएका छन् । मुलुकको आर्थिक मेरुदण्डको मुख्य आधारका रुपमा रहेको पर्यटकलाई बोक्ने सवारीसाधनका लागि छुट्टै बसपार्क नहुँदा बौद्ध, सोह्रखुट्टेलगायत सडकबाट पर्यटकीय बस देशका विभिन्न भागमा आवतजावत गर्दै आएका छन् । कोरोना महामारीबाट नराम्रोसँग थला परेको नेपालको पर्यटन व्यवसायलाई अगाडि बढाउन सरकारले विभिन्न कार्यक्रम अगाडि सारेपनि सङ्घीय राजधानी काठमाडौंमै पर्यटकी बसका लागि पार्किङस्थल नहुँदा व्यवसायीहरु समस्यामा परेका हुन् ।

टुरिष्ट बस एशोसियशन अफ नेपालका पूर्वअध्यक्ष एवं बाबा एडभेन्चर ट्राभल्स एण्ड टुर्स प्रालिका सञ्चालक प्रह्लाद लोहनी विदेशी मुद्रा आर्जन गर्ने प्रमुख व्यवसाय मानिएको पर्यटनका लागि छुट्टै बसपार्क नहुँदा समस्या भएको बताउँछन् । “विदेशी पर्यटक नेपालमा घुम्न आउने हुन्, घुम्नका लागि कहाँबाट बस चढ्ने भन्नेबारे अहिलेसम्म एउटा व्यवस्थित बसपार्क छैन, पर्यटकीय बसपार्क नहुँदा अन्तर्राष्ट्रियस्तरमा समेत नेपालको पर्यटन क्षेत्रको राम्रो सन्देश जान सकेको छैन,”– उनी भन्छन् । पर्यटकीय बसका लागि व्यवस्थित बसपार्क नहुँदा अस्थायी रूपमा सोह्रखुट्टेको सडकबाट सवारीसाधन देशका प्रमुख पर्यटकीय गन्तव्यस्थलमा जाने गरेका छन् ।

काठमाडौंदेखि पोखरा र चितवनको सौराहा, लुम्बिनी, जनकपुरलगायत प्रमुख पर्यटकीयस्थलमा स्वदेशी तथा विदेशी पर्यटक लैजान पर्यटकीय बस सञ्चालन हुँदै आएका छन् । तीन दशकभन्दा बढी समय कान्तिपथबाट पर्यटकीय सवारीसाधन ओहोरदोहोर गरेपनि काठमाडौँ महानगरपालिकाले ट्राफिक प्रहरीसँगको समन्वयमा कान्तिपथ क्षेत्रमा धेरै भीडभाड हुने गरेको भन्दै वि।सं २०७५ असार १६ गते उक्त क्षेत्रबाट पर्यटकीय बसपार्क हटाएर सोह्रखुट्टे सडकमा अस्थायी रुपमा स्थानान्तरण गराएका थिए । सोह्रखुट्टेबाट चल्ने पर्यटकीय बस बिहान ७ बजे स्वदेशी तथा विदेशी पर्यटक बोकेर मुलुकको प्रमुख पर्यटकीय गन्तव्य पोखरा, सौराहा, लुम्बिनी र जनकपुर जाने गरेका छन् ।

नेपाल एशोसियशन टुर्स एण्ड ट्राभल्स एजेन्टस् नाट्टाका अध्यक्ष रमेश थापा विश्वका धेरै मुलुकले पर्यटन क्षेत्रको विकासका लागि पर्यटक बोक्ने सवारीसाधनलाई छुट्टै बसपार्कका रूपमा विकास गरेपनि नेपालमा छुट्टै बसपार्क नहुँदा व्यवसायी समस्या परेको बताउँछन् । “पर्यटन क्षेत्रको विकासका लागि सरकारले ठमेल आसपासको क्षेत्रमा छुट्टै बसपार्क निर्माण गर्नुपर्छ भन्ने माग नाट्टाले राख्दै आएको छ,”– उनी भन्छन् । नाट्टाले पर्यटकीय बस निर्माणका लागि यातायात व्यवस्था विभाग, प्रदेशको पर्यटन तथा वातावरण मन्त्रालय, काठमाडौँ महानगरपालिकालगायतलाई ध्यानाकर्षण गराउँदै आएको अध्यक्ष थापा बताउँछन् । पछिल्लो समय सरकारले पर्यटकीय बसमा समेत इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको छ ।

नाट्टाका अध्यक्ष थापा भने पर्यटक बोक्ने सवारीसाधन सजिलैसँग चिन्नेगरी हरियो नम्बरप्लेट नै कायम हुनुपर्नेमा जोड दिन्छन् । टिवानका पूर्वउपाध्यक्ष एवं नाट्टाका सदस्य ढकनाथ काफ्ले पर्यटकीय बसपार्क निर्माणका लागि टिवानले पटक–पटक सम्बन्धित निकायसँग छलफल चलाउँदै आएको छ भन्छन् । “सरकारले पर्यटकीय बसपार्क निर्माणका लागि आवश्यक चासो नदिँदा अझैसम्म बसपार्क बन्न सकेको छैन,”– उनी जोड दिन्छन् “पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार निर्माण सरकारको पहिलो प्राथमिकतामा पारिनुपर्छ ।” काठमाडौँ महानगरपालिकाका सहायक प्रवक्ता महेशकुमार काफ्ले नेपालको पर्यटन क्षेत्रको विकासका लागि पर्यटकीय बसलाई छुट्टै बसपार्क आवश्यक रहेको बताउँछन् ।

“पर्यटकीय बसपार्क निर्माण गर्ने कुरामा काठमाडौँ महानगरपालिका सकारात्मक छ,”– उनी भन्छन् । हाल काठमाडौँबाट पोखरा र चितवनको सौराहका लागि झण्डै १०० पर्यटकीय बस आवतजावत गर्दै आएका छन् भने तिनले दैनिक दुई हजारदेखि तीन हजारको हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटकलाई गन्तव्यस्थलमा पुर्याउँदै आएका छन् । व्यवसायीले हाल बिहान ५ देखि ७ बजेसम्म सोह्रखुट्टेमा पर्यटकीय बस पार्किङ गरेर यात्रु बोक्दै आएका छन् भने रातको समयमा विभिन्न ग्यारेजमा शुल्क तिर्न बाध्य छन् । –रासस

Ad

RELATED POSTS

YOUR FEEDBACK: