पुसभित्र नगरवासीले पाउलान् त शुद्ध खानेपानी ?

Ad
  • Kalopati

बागलुङ । बागलुङ नगर सह–लगानी खानेपानी तथा सरसफाइ परियोजनाले आगामी पुस मसान्तभित्र नगरक्षेत्रमा शुद्ध खानेपानी खुवाउने प्रतिबद्धता जनाएको छ । बागलुङ नगरपालिकाको अगुवाइमा ठेकेदार, आयोजना र खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई सोधिएको प्रश्नमा आयोजना प्रमुख कुलप्रसाद पौडेल र लिफ्ट खानेपानी आयोजना निर्माण गरिरहेको ठेकेदार कम्पनीका प्रमुख वृहस्पति गौतमले उक्त प्रतिबद्धता जनाएका हुन् ।

लामो समयदेखि अलपत्र परेको आयोजना समयमै पूरा नहुँदा नगरक्षेत्रमा पानीको समस्या भएपछि नगरपालिकाले चासो दिएको हो । “जनताले छिटो र गुणस्तरीय पानी खान पाउनुपर्छ” नगरप्रमुख वसन्तकुमार श्रेष्ठले भने ,“कुनैपनि बहानामा ढिला गरिने काम स्वीकार्य छैन ।” उनले पुस मसान्तपछि एक दिन पनि जनताले कुर्न नसक्ने समेत बताए । ठेकेदार गौतमले भने इलेक्ट्रोनिक्स सामग्री एलसी खोलेर ल्याउनुपर्ने भएकाले राज्यका निकायले एलसी खोल्ने काममा साथ दिनुपर्नेमा जोड दिए ।

“कतिपय अवस्थामा एलसी खोल्न र सामग्री ल्याउने काममा भन्सारमा समस्या हुन्छ, त्यसैले सरकारी निकायले सहजीकरण गरिदिनुपर्छ” उनले भने । “काम ८० प्रतिशत सकिएको छ, अब सामान फिटिङ र रङगरोगनको काम मात्र भएकाले समयमै सम्पन्न गर्न सकिन्छ ।” ठेकेदार गौतमले एलसी खोलेपछि तीन महिनामै सामान ल्याउन सकिने बताए । आयोजना प्रमुख पौडेलले ढिला भए ठेकेदारलाई कारबाही गरिने बताए । उनले कानुनीरुपमा कारबाही गर्नपर्ने स्थिति सिर्जना नभएसम्म दबाब मात्र दिन सकिने बताए । “अब भने कानुनीरुपमा कालो सूचीमै राख्न सकिने अवस्था आउँछ” उनले भने , “भौगोलिक कठिनाइका कारण कतिपय काम ढिला भएको हो ।”

बानपा–३ को कैलाम पोखरीबाट लिफ्टमार्फत भीरलाकुरी लगेर बजार क्षेत्रमा पानी खुवाउने योजना छ । बागलुङ बजारमा हाल वितरित पानी धमिलो र गुणस्तरहिन भएकाले उपभोक्ताले विरोध गर्दै आएका छन् । स्वच्छ पानीका लागि आन्दोलन गरेका उपभोक्ताले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाए पछि प्रशासनले स्वच्छ पानी खुवाउनका लागि पहल गर्दै उपभोक्ताको हितमा काम गर्न समितिलाई निर्देशनसमेत दिएको छ ।  सदरमुकामदेखि झण्डै १२ किमी पश्चिमको भुँदीखोला र रेशखोलाबाट ल्याइएको पानी बागलुङ बजारमा वितरण गरिएको छ ।

उक्त पानीको पाइपलाइन पटक–पटक बिग्रेर मर्मत गर्दा लामो समयसम्म बजारमा खानेपानी अभाव हुँदै आएको छ । हाल पानी आइरहेको मुहान खुला भएको र पहाडी क्षेत्रबाट आउने भल सोझै पस्ने भएकाले धमिलो पानी आउने समितिका उपाध्यक्ष नीरज शाक्यले बताए । आइतबार नगरप्रमुख श्रेष्ठ सहितको टोलीले पानीको मुहान अवलोकन गरेर तत्काल सफा पानी खुवाउने अवस्था सिर्जना गर्न समिति, प्राविधिक र आयोजना समेतलाई आग्रह गर्नुभएको थियो । –रासस

Ad

RELATED POSTS

YOUR FEEDBACK: