‘राजनीतिक सहमति, सहकार्य र एकताका साथ काम गर्छु’ : चन्द्रागिरि नगरपालिकाको प्रमुख गिरी

Ad
  • Kalopati

काठमाडौँ । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत चन्द्रागिरि नगरपालिकाका नवनिर्वाचित पदाधिकारीलाई निर्वाचन अधिकृतको कार्यालयले निर्वाचित प्रमाणपत्र वितरण गरेको छ । बिहीबार सम्पन्न मतगणनामा सो नगरपालिकाको प्रमुख पदमा घनश्याम गिरी १५ हजार ४७५ मत प्राप्त गरी विजयी भएका थिए । सो नगरपालिकाको सभाहलमा आज आयोजित कार्यक्रममा नवनिर्वाचित प्रमुख गिरीलाई निर्वाचन अधिकृत सिर्जना थपलियाले प्रमाणपत्र वितरण गरेका छन् । सो अवसरमा निर्वाचन अधिकृत थपलियाले वडाध्यक्षसहित अन्य सदस्यलाई पनि निर्वाचित प्रमाणपत्र वितरण गरेका थिए ।

सो अवसरमा नवनिर्वाचित प्रमुख गिरीले आफ्नो पहिलो कार्यकालमा अधुरा रहेका विकासका योजना पूरा गर्दै ‘उत्पादन रोजगार र बजारीकरण ः प्रविधियुक्त सुशासन’ भन्ने नाराका साथ नयाँ काम थालनी गर्ने जानकारी दिए । उनले भने, “म राजनीतिक सहमति, सहकार्य र एकताका साथ नगरको विकासमा काम गर्नेछु, मलाई अमूल्य मत दिइ दोस्रो कार्यकालका लागि पुनःप्रमुख पदमा निर्वाचित गर्नुहुने नगरवासीलाई धन्यवाद दिन्छु, नगरवासीको सुझाव, सल्लाह र भावनानुसार अगामी विकासका काम गर्नेछु ।”

सो अवसरमा निर्वाचन अधिकृत थपलियाले निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने राजनीतिक दल, सुरक्षाकर्मीलगायत नगरवासीलाई धन्यवाद दिए । कार्यक्रममा चन्द्रागिरिका कार्यकारी अधिकृत नीरज पौडेलले नवनिर्वाचित जनप्रतिनिधिलाई कर्मचारीका तर्फबाट साथ र सहयोग गर्ने विश्वास दिलाए । प्राज्ञिक एवं विकासप्रेमी नेताका रुपमा सुपरिचित गिरी कांग्रेसका तर्फबाट पुनःप्रमुख पदमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् भने वडा नं १, ३, ४, ७, ८, ९, ११, १३ र १५ मा नेपाली कांग्रेसले विजय हासिल गरेको छ ।

कांग्रेसका तर्फबाट नवनिर्वाचित वडाध्यक्ष वडा नं १ मा हरिश्याम रानामगर, ३ मा दुर्गालाल महर्जन, ४ मा कृष्णप्रसाद खड्गी, ७ मा शम्भु केसी, ८ मा प्रल्हाद रिजाल, ९ मा अच्युत अधिकारी, ११ मा नरेन्द्रराज श्रेष्ठ १३ मा श्रीकृष्ण खत्री र १५ मा घनश्याम लुइँटेल हुन् । यसैगरी नेकपा (एमाले) का तर्फबाट उपप्रमुखमा वसन्ती श्रेष्ठ निर्वाचित भएका छन् । सो पार्टीका तर्फबाट वडाध्यक्षमा वडा नं ६ मा सञ्जय सिग्देल, वडा नं १० मा शिवकुमार महर्जन, वडा नं १२ न्हुच्छेबहादुर महर्जन र वडा नं १४ मा राजभाइ महर्जन निर्वाचित भएका छन् । नेकपा ९माओवादी केन्द्र०बाट वडा नं २ मा भाइकृष्ण तामाङ र वडा नं ५ मा राजेन्द्र महर्जन निर्वाचित भएका छन् ।

निर्वाचन आयोगका अनुसार निर्वाचनका लागि नगरपालिकामा ४७ हजार २६४ मतदाता कायम भएकामा यस पटकको निर्वाचनमा ३६ हजार ७१२ ले मतदान गरेका थिए । यसपटकको निर्वाचनमा २२ मतदानस्थल र ५६ मतदान केन्द्र तोकिएका थिए । –रासस

Ad

RELATED POSTS

YOUR FEEDBACK: