कोञ्जेसोम गाउँपालिकाका उम्मेदवारद्धारा सडक सुधारमा जोड , कृषि व्यावसायीकरण र पर्यटन विकास गर्ने प्रतिबद्धता

nirwachan
Ad
  • Kalopati

ललितपुर । काठमाडौंबाट नजिकै भएर पनि विकासका हिसाबले पछि परेको कोञ्जेसोम गाउँपालिकाका उम्मेदवारहरूले सडक सुधार, खानेपानीको व्यवस्था, कृषि र पशुपालनलाई व्यावसायिक बनाउने विषयलाई नै चुनावी एजेण्डा बनाएका छन् । आफूहरु अध्यक्ष–उपाध्यक्ष निर्वाचित भए कृषि, पशुपालन र पर्यटन विकास गर्ने सबै उम्मेदवारको प्रतिबद्धता छ । सांस्कृतिक, जातीय, धार्मिक र जैविक विविधताले भरपुर यस स्थानबाट  उपत्यका र तराईका कतिपय ठाउँ नियाल्न सकिने हुँदा यहाँ पर्यटन प्रवर्धनको प्रशस्त सम्भावना छ ।

कतिपय वडाका घर–घरमा पानी नपुगेकाले सबैतिर खानेपानीको व्यवस्था गर्ने उम्मेदवारले पालिकावासीको घर–घरमा पुगेर प्रतिबद्धता जनाउँदै आएका छन् । बिर्खेधारा–दलचोकी–सङ्खु–इकुडोल सडक, मध्यमार्गी सडक ९लेले–गोटिखेल  र लेले–चन्दनपुर सडक पालिकासँग जोडिएका मुख्य सडक हुन् । यिनको सुधारमा आफूहरु लाग्ने उम्मेदवारहरुले बताएका छन् । आफू अध्यक्षमा निर्वाचित भए सडक स्तरोन्नति र सुधारमा पहिलो ध्यान दिने नेकपा एमालेका कृष्णमान लामा बताउँछन् । पालिकाका पाँच वडाबाट केन्द्रसम्म कच्ची सडक पुगे पनि त्यहाँ सुधारको काम बाँकी रहेकाले आफू निर्वाचित भएमा सुधार गरेर पक्की बनाउने उनको जोड छ । यो गाउँपालिका भएर अरु पालिका र जिल्ला जाने तीन सडक छन् ।

प्रदेश र सङ्घीय सरकारमातहतका सडकमा पनि समन्वय बढाएर चाँडो निर्माण गराउने योजनामा रहेका उम्मेदवार लामा भन्छन् , “पालिका जोड्ने तीनवटै सडक सुधार गर्नसके मात्रै नागरिकको जीवन सजिलो बन्छ ।” काठमाडौं उपत्यकाको धुलो र धुँवाबाट एक दिन टाढा गएर बास बसौं भन्नेहरुका लागि यहाँ पर्यटनको राम्रो सम्भावना रहेकाले उपत्यकाका पर्यटकलाई आकर्षित गर्न सकिनेमा जोड दिँदै उनले भने , “यहाँ आन्तरिक र बाह्य दुवै पर्यटनको सम्भावना छ, हामीले पर्यटक यहाँसम्म आउने र बास बस्ने व्यवस्था मिलाउनुपर्छ ।”किसानको कृषि र पशुपालन पेसा निर्वाहमुखी भएकाले त्यसलाई व्यावसायीकरण गर्न सकिने, तरकारी खेतीको राम्रो सम्भावना भएकाले पाँचै वडामा तरकारीको पकेट क्षेत्र बनाएर किसानलाई सहजीकरण गरिने, यहाँका उत्पादन छोटो समयमा र ताजा नै काठमाडौँसम्म पुयाउने सकिनेमा उम्मेदवार लामा जोड दिन्छन् ।

सिँचाइको व्यवस्था गरेर बेमौसमी तरकारी खेती विस्तार गरिने, किसानलाई मल तथा बीउबिजनमा सहयोग गरेर सङ्कलन केन्द्रमार्फत बजार व्यवस्थापन गरिने उनको भनाइ छ । तामाङ, मगर, पहरीलगायत जातिको चेतनको विकास तथा शैक्षिक विकासमा जोड दिइने, सङ्खुमा १० शय्याको अस्पताल निर्माण भइरहेकामा यसलाई व्यवस्थित गरिने अन्य स्वास्थ्यचौकीका पनि पूर्वाधार सुधारका साथै चिकित्सकीय सेवा दिलाइनेमा लामा जोड दिन्छन् । कोञ्जेसोमका मुख्य तीन सडकलाई आफ्नो पालिकाभित्र कालोपत्र गर्ने योजना रहेको नेकपा माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार गोपीलाल सिङतान बताउँछन् । यसअघि अध्यक्षका रूपमा पाँच वर्ष काम गर्दा सडकलगायत पूर्वाधार निर्माण गरिएको र अब निर्वाचित भएमा पाँच वर्ष स्तरोन्नतिमा लाग्ने उनले मतदातालाई बताउँदै आएका छन् ।

पालिका जोड्ने तीनवटै सडक कालोपत्र गर्ने योजना अघि बढाउने बनानाएका उम्मेदवार सिङतान भन्छन् , “अबको पाँच वर्ष कतुवान–सङ्खु–भटृेडाँडा सडकलगायत यहाँका कुनै पनि सडक हिलो र खाल्डा नहुने गरी ड्रेन बनाउने र ग्राभेल गर्ने कामलाई अघि बढाइनेछ ।” दश शय्या अस्पतालका साथै पाँचवटै वडामा रहेका बर्थिङ सेन्टर व्यवस्थित गरेर सञ्चालन गर्ने सिङतानको योजना छ । योग्यता र क्षमता भएका शिक्षकलाई प्रोत्साहन गरिने र अभिभावकले निजी विद्यालयको आशा गर्न नपर्ने गरी सामुदायिक विद्यालयको विकास गरिने उहाँ बताउँछन् । पर्यटकीय पूर्वाधार विकास गरिने र यहाँ मासिकरूपमा दुईदेखि ५०० पर्यटक भित्र्याइने सिङतानको लक्ष्य छ । जातीय विशेषतासहितको घरबासहोम स्टेको विकास गरिने, कृषि तथा पशुपालनलाई व्यावसायिक बनाउन रु पाँच लाखसम्म बिनाधितो ऋण व्यवस्था गरिने, दूध उत्पादन अझै बढाउन किसानलाई प्रोत्साहन गरिने, महिला सशक्तीकरण र समान पहुँचका लागि अबको पाँच वर्षमा उनीहरुको आर्थिक र नेतृत्व विकासको क्षमता विस्तार गरिने सिङतानको योजना छ ।

महिलालाई उत्पादनमा जोडेर वित्तीय कारोबार गर्ने संस्थासँग सरल, सहज ब्याजका लागि पालिकामार्फत समन्वय गरिने र ज्येष्ठ नागरिकका लागि वृद्धाश्रम निर्माणभन्दा घर–घरमै खुसी र शुखीपूर्वक पाल्न पाल्ने वातावरण निर्माण गरिने, सामाजिक सुरक्षा भत्ता घर–घरमा पुर्याइने र अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच पुर्याइनेमा उनि जोड दिन्छन् । कोञ्जेसोममा खानेपानी र सडकको बढी समस्या रहेकाले त्यसैको समाधानमा लाग्ने नेकपा एमालेकी उपप्रमुखकी उम्मेदवार रणिता तामाङको भनाइ छ । कृषि विकासका लागि लक्षित कार्यक्रम सञ्चालन गरी सबै वडामा सङ्कलन केन्द्र स्थापना गरिने र पशुपालनलाई व्यावसायिक बनाउने उनको योजना छ ।पूर्वाधार विकास खासगरी सडकको स्तरोन्नति र सुधारको योजना तामाङले मतदातालाई सुनाउँदै आएका छन् ।

मदिरापानका कारण महिला हिंसाका घटना भइरहेकाले यसको रोकथाममा गरिने अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकले सजिलै भत्ता पाउने व्यवस्था मिलाइ र खानेपानीको सुविधा घरघरमै पुर्याइने उनि सुनाउँछन् ।  नेपाली कांग्रेसका तर्फबाट उपप्रमुखका उम्मेदवार बनेका राजनप्रसाद घिमिरे यहाँको पाँच वडामा पहिलो कृषि र पर्यटनको विकास गरी आर्थिक उपार्जन र रोजगारी अभिवृद्धि गर्ने प्रतिवद्धता व्यक्त गर्छन् । यहाँ प्राकतिकरुपमै भ्यू टावर रहेकाले काठमाडौं उपत्यका, हिमाल, पहाड र तराई अवलोकन गराइ पर्यटन प्रवर्धन गराउन पहल गरिने उनि बतउँछन् । सङ्खु, दलचोकीलगायतका ठाउँमा दैनिक ठूलो परिणाममा दुग्ध उत्पादन रहेकाले त्यसलाई कृषिसँग जोड्न तरकारी, फलफूल र पशुपालनमा आवश्यक सहयोग उपलब्ध गराएरै किसानको जीवन अघि बढाउनुपर्नेमा उम्मेदवार घिमिरे जोड दिन्छन् । –रासस

Ad

RELATED POSTS

YOUR FEEDBACK: