चुनावले बढायो व्यावसायिक क्षेत्रमा चहलपहल, व्यवसाय बढ्ने अनुमान

Ad
  • Kalopati

चितवन । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा व्यावसायिक क्षेत्रमा चहलपहल बढ्न थालेको छ । मुख्यरुपमा होटल रेष्टुराँका व्यापार बढ्न थालेका छन् । यसको प्रत्यक्ष लाभ उत्पादन क्षेत्रले पनि पाउन थालेका छन् । पछिल्ला वर्षहरुमा निर्वाचनको समयमा खर्च बढी हुने गरेको छ । स्थानीय तहको निर्वाचन भएकाले गाउँ टोलमा रहेका होटल रेष्टुराँदेखि सहरका ठूला होटल रेष्टुराँमा पनि यसको प्रभाव देखिन थालेको हो ।

जिल्लाका पर्यटन व्यवसायीसमेत रहेका उद्योग परिसङ्घ बागमती प्रदेशका अध्यक्ष भेषराज दुवाडी निर्वाचनको चहलपहल सुरु भएको बताउँछन् । उनले भने , “ऋण धन गरेर पनि उम्मेदवारले खर्च गर्ने हुँदा यसले बजार व्यवसायलाई चलायमान बनाउँछ ।” बैंक र वित्तीय क्षेत्रभन्दा बाहिर रहेका नगद रकमसमेत निर्वाचनमा आउने अनुमान रहेको उनको भनाई छ । उनले थपे , “यसको नतिजा निर्वाचनपछि देखिन्छ ।” होटल रेष्टुराँमा ग्राहक थपिएका दुवाडी बताउँछन् । उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले आर्थिक क्षेत्र चलायमान हुन थालेको बताए । बजारको चहलपहल कम भएकोमा क्रमशः बढ्दै गएको उनि बताउँछन् ।

होटल रेष्टुराँको व्यापार बढेसँगै यसको प्रत्यक्ष प्रभाव उत्पादन क्षेत्रमा पर्ने श्रेष्ठको भनाइ रहेको छ । उनले भने , “निर्वाचनको समयमा पैसा बजारमा आउँदै गर्दा समग्र अर्थतन्त्रमा यसको लाभ पुग्छ ।” विगतका निर्वाचनमा पनि चलायमान हुने गरेको भन्दै उहाँले चुनावको मिति नजिकिँदै गर्दा बजार थप चलायमान बन्ने बताए । देशभरबाट हेरिएको निर्वाचन भएकाले भरतपुरमा चुनावी चहलपहल बढी हुने अनुमान रहेको छ । रेष्टुराँ एण्ड बार एशोसिएशन चितवनका अध्यक्ष अच्युत भट्टले साना रेष्टुराँको व्यापार राम्रो हुन थालेको बताए । गाउँगाउँमा रहेका साना रेष्टुराँमा पनि चहलपहल वढेको छ । भट्टले भने , “ठूला होटल रेष्टुराँमा पनि व्यवसाय बढ्ने अनुमान हाम्रो रहेको छ ।”

एशोसिएशनकी उपाध्यक्ष अनुशा पाठकले आशातित् व्यापार भई नसके पनि सङ्केत राम्रो भएको बताए । सुनसानजस्तै भएकोमा क्रमशः मानिसको चहलपहल बढ्न थालेको पाठकको भनाइ छ । बजार चलायमान हुँदै गर्दा कुखुराजन्य उत्पादनको माग बढ्न थालेको छ । मुख्यरुपमा अण्डा र मासुको माग बढेको व्यवसायीले बताएका छन् । पोल्ट्री व्यवसायी शङ्कर कँडेलको भनाइमा अण्डा र मासुको माग बढेको छ । बीचको समयमा कुखुराजन्य पदार्थको माग घट्दा मूल्यमा कमी आएको थियो । अब क्रमशः पूर्ववत् अवस्थामा अण्डाको मूल्य फर्कने अवस्थामा रहेको छ । बजारमा अण्डाको माग बढेसँगै मूल्य पनि बढेको व्यवसायीले बताएका छन् ।

अण्डा उत्पादक कृषक मदन पोख्रेलले यसअघि प्रतिक्रेट रु ३३० मा बिक्री हुँदै आएको अण्डा आजदेखि रु ३८० मा बिक्री हुन थालेको बताए । अण्डा दिए पछि बिक्री गर्ने माउ कुखुरा प्रतिकिलो रु ११० बाट रु १५० पुगेको छ । बजारमा कुखुराको मासुको अभाव हुन थालेको व्यवसायी बताउँछन् । बीचको समयमा बर्डफ्लुका कारण कुखुरा मरेपछि यसको प्रभाव बजारमा देखिन थालेको हो । माग बढी र उत्पादन कमी हुँदा समस्या देखिएको व्यवसायी बताउँछन् । –रासस

Ad

RELATED POSTS

YOUR FEEDBACK: