महामन्त्री शर्मा केपी ओलीलाई भन्छन् – ‘एकातर्फ हामीलाई एक्लै लड्छौँ आउ, आउ भन्ने र बोक्ने बेला कमल थापालाई बोक्ने’

Ad
  • Kalopati

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली काँग्रेस पार्टी आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा राष्ट्रियरुपमा विजयी बन्ने दाबी गरेका छन् । आईतवार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै महामन्त्री शर्माले यस्तो दाबी गरेका हुन् । उनले काँग्रेसले स्थानीय तहको निर्वाचनमा विजयी बन्दै गर्दा विजयको कुरामात्र नसोचेको र समाजलाई एकै ठाउँ कसरी उभ्याएर जाने ? भन्ने बारेमा पहलकदमी गरिरहेको बताए ।

महामन्त्री शर्माले स्थानीय निर्वाचनमा काँग्रेस बलियो बन्ने देखेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू क्विन्टल र अरु एक-एक किलोको ढक भएको त्रासपूर्ण अभिव्यक्ति दिएको बताए । केही दिनअघि नेकपा एमालेका अध्यक्ष ओलीले एक सार्वजनिक कार्यक्रममा गठबन्धनका ५ दल एक एक किलोको ढक भएको र नेकपा एमाले एक्लै क्विन्टल भएको अभिव्यक्ति दिएका थिए । त्यसप्रति इंगित गर्दै महामन्त्री शर्माले नेकपा एमाले एक क्विन्टल आलु भएको तर गठबन्धन एक-एक तोला मात्र भएपनि सुन भएको जिकिर गरे ।

‘कमरेड केपी ओलीले भन्नुभयो, १ -१ किलाका ५ वटा ढक हुन् भन्नुभयो, हामी एक्लै क्विन्टल हौँ भन्नुभयो । मेरा जिल्लावासीलाई म विनम्रतापूर्वक भन्छु । तर हिसाव नमिलेपछि हिसाव बुझाइदिनुपर्छ । हामी ५ वटा एक एक किलाका ढक होइनौँ । हामी एक एक तोला मात्रै हौँ । क्विन्टल चाहीँ वहाँ क्विन्टल नै हो । तर एक क्विन्टल आलु र ५ वटा तोला सुनको हिसाव बजारमा गएर सोध्यो भने कमरेड केपी ओलीलाई थाहा हुन्छ, वास्तविकता के हो । एकातर्फ हामीलाई एक्लै लड्छौँ आउ, आउ भन्ने र बोक्ने बेला कमल थापालाई बोक्ने’  महामन्त्री  शर्माले भने ।

महामन्त्री शर्माले नेकपा एमालेले बाहिर एक्लै भिड्न तयार रहेको अभिव्यक्ति दिएपनि भित्रभने कमल थापासँग तालमेल गरिरहेको बताए । उनले काठमाडौं महानगरपालिकामा यस पटक सिर्जना सिंहको नेतृत्वमा बहुसंख्यक जित दर्ता गर्ने दाबी गरे । महामन्त्री शर्माले काँग्रेसले तालमेलबाट पहिलो भएर शक्ति सञ्चय गर्न चाहेको र त्यसपछिका निर्वाचनमा रुख चिन्हलाई विजयी गराएर १५ वर्षभित्रमा नेपाललाई विकासशील बनाउने प्रतिवद्धता जनाए ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: