काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका नेता राजेन्द्र महतोले निर्वाचनकै मजाक हुनेगरी सत्तारुढ दलहरुले चुनावी गठबन्धन गरेको टिप्पणी गरेका छन् । नेता महतोले निर्वाचनमा जनताले पार्टीलाई मत दिने भएपनि सत्तारुढ दलहरुले गठबन्धनको नाममा चुनाव लडेर गल्ती गरेको आरोप समेत लगाए ।
शुक्रबार काठमाडौंमा पार्टीको स्थानीय तह चुनावी घोषणा पत्र सार्वजनिक कार्यक्रममा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सत्तारुढ दलहरु चुनावमा जाँदा जनताले कुन पार्टी भनेर बुझ्ने भन्ने प्रश्न समेत गरे । देश र दुनियाँले नबुझ्ने गरी सत्तारुढ दलहरुले गठबन्धन बनाएर चुनावमा गएको नेता महतोको भनाई थियो ।
नेता महतोले दलीय सिष्टममा दलहरु आफैं निर्वाचनमा जाने भएकाले आफ्नो पार्टीले गठबन्धन गरेर जाने विषयलाई महत्व नदिएको तर्क गरे । उनले स्थानीय तहमा आवश्यक्ताको आधारमा अन्य दलसँग चुनावी तालमेल गरेर जाने निर्णय गर्ने अधिकार स्थानीय पार्टीलाई दिइएको पनि उल्लेख गरे ।