ताप्लेङजु । ताप्लेङजुको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलामा अध्यक्षमा छेतेन वालुङसहित वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् । उम्मेदवारी दर्ता गर्दा अन्य प्रतिस्पर्धी नपरेसँगै वडाध्यक्षसहित सबै सदस्य निर्विरोध निर्वाचित भएको जनाइएको छ । गत साता नै ओलाङचुङगोलाका समुदायले सर्वसम्मतमा फक्ताङलुङ गाउँपालिका–७ को वडाध्यक्षमा चयन गरेको थियो ।
वालुङ नेकपा एमालेको तर्फबाट अध्यक्ष र नेपाली कांग्रेसबाट चार सदस्य टासी शेर्पा, वाङग्या शेर्पा, महिला सदस्यमा फुपुल्हामु श्रेष्ठ र दलित महिला सदस्यमा विपना तुम्वाहाम्फे विक निर्विरोध निर्वाचित भएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । गाउँलेहरूले चयन गरेका उम्मेदवारबाहेक सो वडामा अरु कोही पनि व्यक्तिको उम्मेदवारी नपरेसँगै अध्यक्षसहित निर्विरोध निर्वाचित भएको निर्वाचन कार्यालयका सूचना अधिकारी विपीन दुलालले बताए । गाउँलेहरूले सहमति जुटाएका सबै उम्मेदवारले स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गराएको वडाध्यक्ष छेतेनले बताए ।
ओलाङचुङगोला समुद्र सतहदेखि तीन हजार ५०० मिटर उचाइमा अवस्थित हिमाली बस्ती हो । यस बस्तीमा जम्मा ५३ घरपरिवार बसोबास गर्दै आएका छन् । दुई ७७ मतदाता रहेको ओलाङगोलामा गाउँलेको आम भेलाबाट सर्वसम्मत अध्यक्ष चयन गरेको तेन्जिङ वालुङले बताए । सर्वसम्मत वडाध्यक्ष वालुङ विसं २०७४ को निर्वाचनमा निवर्तमान अध्यक्षसँग एक मतले पराजित भएका थिए । यसपछि अल्पसङ्ख्यक कोटाबाट कार्यपालिका सदस्यमा निर्वाचित भएका थिए । विसं २०७४ को निर्वाचनपछि गाउँमा लामो समय तिक्तता भएको जनाउँदै यहाँका जनप्रतिनिधि र युवा अवुगाले केही दिनदेखि सर्वसम्मत गराउने प्रयास गरेका थिए । –रासस