उपत्यकामा मेलम्ची खानेपानी पुनः वितरण सुरु, केपी ओलीलाई घर–घरमा जोडिएको मेलम्चीको पानी पिउन मन्त्री चौधरीको आग्रह

Ad
  • Kalopati

काठमाडौं । काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी पुनः वितरण सुरु गरिएको छ । आइतबार काठमाडौंमा खानेपानी मन्त्री उमाकान्त चौधरीले एक कार्यक्रमका बीच मेलम्ची खानेपानीको पुनः वितरण सुरु गरेका हुन् । मेलम्ची खानेपानी २०७७ साल चैत्र दोस्रो हप्तादेखि काठमाडौं उपत्यकामा वितरण सुरु भएको भएपनि २०७८ असार १ गते मेलम्ची नदीमा आएको बाढी, पहिरोले खानेपानी आयोजनाको संरचनामा क्षति पुगेपछि खानेपानी वितरण बन्द भएको थियो ।

मेलम्ची खानेपानीको पुनः वितरण सुरु भएसँगै अब प्रतिदिन १७ करोड लिटर खानेपानी उपत्यकामा वितरण गरिने खानेपानी मन्त्रालयले जनाएको छ । खानेपानी पुनः वितरण कार्यक्रमको उद्घाटन गर्दै खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्ची खानेपानी आयोजनाको दिर्घकालिन सञ्चालनको लागि एसियाली बिकास बैंकले मेलम्चीमा आएको बाढी र पहिरोको क्षतिको विवरण र त्यसको कारण र स्थायी समस्या समाधानका उपायका लागि अध्ययन गरेकाले प्रतिवेदन तयार भएपछि आवश्यक कार्ययोजना बनाई कार्यान्वयन गरिने बताए ।

उनले वर्षा याममा मेलम्ची नदीमा बाढी आएमा पूर्व सुचना दिनका लागि अर्ली एलर्ट मेसिन जडान गरिएको बताए । मन्त्री चौधरीले मेलम्चीको पानी उपत्यकामा वितरण गर्ने प्रणालीलाई व्यवस्थापन गर्नका लागि मन्त्रालयमा सचिवको संयोजकत्वमा कोअर्डिनेशन कमिटी गठन गरेको उल्लेख गरे । उनले वर्षायाममा मेलम्चीको पानीको विकल्पको रुपमा बागमती नदिको पानि शुद्धिकरण गरी ल्याउने प्रक्रिया अगाडी बढाइएको पनि जानकारी दिए । मन्त्री चौधरीले प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का अध्यक्ष केपी ओलीलाई मेलम्चीको पानी पिउन आग्रह गरेका छन् ।

ओलीले वर्तमान सरकारले कुनै हालतमा मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याउन सक्दैन भनेर सार्वजनिक अभिव्यक्ति दिएको प्रति लक्षित गर्दै उनले ओलीलाई मेलम्चीको शुद्ध पानी शुद्ध छ कि अशुद्ध छ अनुभव लिनका लागि पिउन आग्रह गरे । उनले खानेपानीको नाममा राजनीति नगर्न प्रमुख प्रतिपक्षी दललाई आग्रह समेत गरेका छन् । मन्त्री चौधरीले वर्षाको पानी संकलन, जलाधार संरक्षण गरी पानीको मुल फुटाउ अभियान र पानीको गुणस्तर परिक्षण अभियान सञ्चालन गर्न मन्त्रालयले कार्ययोजना तयार गरी अघि बढ्ने नीति लिएको स्पष्ट पारे ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: