महिलाद्वारा सञ्चालित उद्योगमा धेरैलाई रोजगारी

Ad
  • Kalopati

मङ्गलबारे । इलामको कोसेली ललिपप धेरैको रोजाइँमा पर्दछ । दूधबाट बनेको ललिपप इलाम घुम्न आउने पर्यटकले घर फर्किदा कोसेलीका रुपमा लिएर जाने गर्दछन् । निकै स्वादिलो मिठाइका रुपमा लिइने ललिपप उद्योगबाट धेरै महिलाले रोजगारीसमेत पाएका छन् । ललिपपसम्बन्धी उद्योग सञ्चालन गरेर इलामका महिला आत्मनिर्भर मात्र होइन धेरै महिला तथा पुरुषलाई रोजगारीसमेत पाइएका छन् । धेरै महिला तथा पुरुष जागिरको खोजीमा कोही नेपालमा नै त कोही रोजगारी नपाएर वैदेशिक रोजगारीमा समेत जाने गर्दछन् ।

इलामकी दीपा गुरुङले धेरै महिलालाई रोजगारी दिएका छन् । सानो लगानीबाट सुरु गरेको ललिपप उद्योगबाट धेरै महिलालाई उनीले रोजगारी दिन सफल भएकी छिन् । इलाम तिल्केनीकी गुरुङको दैनिकी अहिले निकै व्यस्त छ । आठ वर्ष पहिले उनले स्थापना गरेको ग्रिनसिटी ललिपप उद्योगमा अहिले ४६ महिलाले रोजगारी पाएका छन् । बिहान ४ बजेदेखि राति अबेरसम्म उनी काममा नै व्यस्त रहनछिन् । उनीको उद्योगबाट ललिपप र बम्बैसन बन्ने गर्दछ । इलाममा मात्र सीमित ललिपप र बम्बैसन पछिल्लो समय काठमाडौँसम्म पुग्ने गरेको छ ।

छ जनाबाट सुरु भएको उनीको उद्योगमा अहिले ४६ महिलाले दैनिक काम गर्छन् । रु. पाँच लाखबाट सुरु भएको उनीको उद्योगले अहिले वार्षिक रु ३५ लाखसम्म कमाइ हुँदै आएको छ । त्यस्तै इलाम बजार नजिकै सुष्मा राईले पनि इलामेली ललिपप उद्योग स्थापना गर्नुभएको हो । उनीले पनि ३४ जना कामदार राखेर सो उद्योग सञ्चालन गर्दै आउनु भएको छ । रु चार लाखको लागतबाट सुरु भएको व्यवसायबाट राम्रै आम्दानी हुने गरेको उहाँले सुनाउनुभयो । थोरै लगानीबाट सुरु भएको उद्योगमा धेरै महिलाले रोजगारी पाएसँगै उहाँहरु आत्मनिर्भरसमेत बन्दै जानुभएको छ ।

उद्योगमा सबैलाई कामको बाँडफाँड गरिएको छ । मिठाइका परिकारमा लेबल लगाउने, स्टिकर टाँस्ने, प्याकेजिङ गर्ने काममा महिलाहरुले रोजगारी पाउनु भएको छ । गाउँबाट बालबच्चा पढाउन सदरमुकाम बसेका महिलासमेत सो उद्योगबाट स्वरोजगार बन्दै गएको छ । उनीहरुले श्रीमान् वा आफन्तबाट पैसा माग्न नपर्ने गरेको बताएकी छिन् । उनीहरुले बरु उल्टै परिवारमा पैसा सहयोग गर्न पाएको भन्दै खुसीसमेत व्यक्त गरेकी छिन् । दूधबाट खुवा तयार पारेपछि ललिपप बनाइन्छ । ललिपपसँगै बम्बैसन पनि तयार पारिन्छ ।

पन्ध्र वर्ष पहिले सामान्य रुपमा बिक्री हुने ललिपप पछिल्लो समय लोकप्रिय बन्दै गएको छ । दूध पकाउन चुलो बनाएर आगोबाट गरिँदै आएको भए पनि पछिल्लो समय विद्युतीय प्रविधिबाटसमेत दूध सुकाएर कुराउनी निर्माण गरिन्छ । दूध फटाएर छुर्पी, चिज, सेतो रसबरी लगायतका परिकार बनाइन्छ । हाल ललिपपलगायत दूधजन्य वस्तुको बजारमा समस्या नभएका कारण यस क्षेत्रमा जिल्लावासीको आकर्षण बढ्दै गएको छ । यस्ता उद्योग सञ्चालन गर्नेको सङ्ख्यासमेत बढ्दै गएको छ । –रासस

Ad

RELATED POSTS

YOUR FEEDBACK: