पोल गाडेको तीन वर्षमा पनि बलेन बिजुली, उद्योग व्यवसाय सञ्चालन गर्न समस्या

Ad
  • Kalopati

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–२ रुममा विद्युत्का पोल गाडिएर तार झुण्ड्याएको तीन वर्ष भएपनि अहिलेसम्म बिजुली बल्न सकेको छैन । नेपाल विद्युत् प्राधिकरणले रुममा विद्युत्का पोल र तार गाडेको तीन वर्ष बित्दा पनि बिजुली बल्न नसकेको हो । प्राधिकरणले पर्वतको मिलनचोकबाट म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने प्रसारण लाइन, ३३–११ केभी क्षमताको रातोढुङ्गा सबस्टेशन र आसपासका तीनवटा वडामा विद्युतीकरण गर्न सन् २०१६ मा आयोजना सुरु गरेको थियो ।

रुमका नन्दबहादुर घर्तीमगरले पोल गाडेको तीन वर्ष र ट्रान्सफर्मर राखेको दुई वर्ष भए पनि बिजुली नबलेको बताए । “विद्यालयमा कम्प्युटर विषयको पठनपाठन, फर्निचरलगायत उद्योग व्यवसाय सञ्चालन गर्न समस्या भएको छ”, उनले भने , “लघु जलविद्युत्को बिजुलीको भरमा छौँ ।” तीन वर्षअघि नै बत्ती बलिसक्नुपर्ने गाउँमा लगिएका पोल गाड्ने र तार तान्ने काम अझै भएको छैन । पाँच सय घरधुरी रहेको मालिका–२ रुममा पोल गाडेको, तार तानेको र ट्रान्सफर्मर जडान भए पनि केन्द्रीय लाइन विस्तार नभएको वडाध्यक्ष नरबहादुर पुनले बताए । मालिका गाउँपालिका–१ निस्कोटको खहरे, रिठेचौर, साउँबोट, बासबोट, छिस, भट्टखोला, घोर्सीका तीन सय घरधुरीमा विद्युतीकरण गर्न तीन वर्षअघि लगिएका पोल अझै नगाडेको खहरेका रनबहादुर पुनले बताए ।

“सडकको वरपर राखिएका बिजुलीका पोल झाडीले पुरिएका छन्”, उनले भने , “पोल ल्याएको तीन वर्षपछि हालै तीन रोल एबिसी केबुल आए पनि पोल गाड्ने र तार तान्ने काम भएको छैन ।” डेढ सय घरधुरी भएको मालिका–६ को उपल्लो दुखुमा तीन वर्षअघि ढुवानी गरिएको पोल गाडेर हालै तार तान्न थालेका स्थानीयवासी ओमकार रोकाले बताए । तीनवटै बस्तीका बासिन्दा लघुजलविद्युत् परियोजना नियमित सञ्चालन नहुने र केन्द्रीय लाइन विस्तारमा ढिलाइ हुँदा उज्यालोका लागि टुकी, दियालो र सोलारमा निर्भर हुनुपरेको खहरेका सम्मरसिंह पुनले बताए । “विद्यालयमा कम्प्युटर विषयको पठनपाठन सञ्चालन गर्नदेखि घरायसी काम प्रभावित भएको छ”, उनले भने , “मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारसँगै जोडिएको हाम्रो बस्तीमा अझै केन्द्रीय लाइनको बिजुली बलेको छैन ।

” नेपाल विद्युत् प्राधिकरणमार्फत ए टु जेड इञ्जीनियरिङले करिब रु आठ करोडमा सन् २०१६ मा ठेक्का लिएको सबस्टेशन, मिलनचोकबाट २२ किलोमिटर प्रसारण लाइन, दुखु, निस्कोटको तल्लो क्षेत्र र रुममा विद्युतीकरण गर्ने काम २०१८ को डिसेम्बरमै सक्ने लक्ष्य थियो । नेपाल विद्युत प्राधिकरणअन्तर्गतको सम्बद्ध आयोजनाको बेवास्ता र निर्माण व्यवसायीको लापरबाहीका कारण सबस्टेशन, प्रसारण लाइन र तीनवटा बस्तीमा बिजुली बाल्ने योजना अधुरो बनेको मालिका–१ का वडाध्यक्ष टङ्कप्रसाद पुनले बताए । बीस किलोमिटर दूरीसम्म एउटा सबस्टेशनबाट विद्युत् आपूर्ति गराउने मापदण्ड भए पनि मिलनचोक सबस्टेशनबाट तीनवटा फिडरबाट ८० किलोमिटरसम्म वितरण गर्नुपर्दा नियमित विद्युत् आपूर्ति गराउन समस्या भएको छ ।

म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकामा विद्युत् आपूर्ति सहज बनाउन रातोढुङ्गा सबस्टेशनलाई जति सक्दो छिटो सम्पन्न गराउनुपर्ने नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख प्रशान्तकुमार झाले बताए । रातोढुङ्गा सबस्टेशन आयोजनाका इञ्जीनियर कपिल पाण्डेले धेरै प्रयासपछि ठेकेदारलाई काममा फर्काएको र अधुरा काम सक्न ताकेता गरिएको बताए । “ठेकेदारलाई धेरैपटक ताकेता गरेर काममा फर्काएका छौँ”, उनले भने , “बाँकी कामलाई पूर्णता दिन पहल, समन्वय र ताकेता गरेका छौँ ।” –रासस

Ad

RELATED POSTS

YOUR FEEDBACK: