आलुका बोट सप्रिएपछि रसुवाका किसान खुसी

Ad
  • Kalopati

दक्षिणी भेगका खेतीयोग्य जमिनमा लगाइएका हिउँदे आलुको बोट सप्रिएपछि यहाँका किसान खुसी भएका छन् । धान उत्पादनपश्चात् गत मङ्सिरमा रोपिएका आलु गोडमेल गर्दा जरामा राम्रोफल भेटिएपछि किसानमा उत्साह बढेको हो । उत्तरगया, कालिका र नौकुण्ड गाउँपालिकाअन्तर्गत तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने हजारौँ किसान आलुखेतीमा सहभागी हुँदै आएका छन् ।

पहिरेबेँसी, बनुवा, मनिगाउँ, पहिरे, कुडुल्ले, गिद्धेखोला, जिबजिबे, गैरीगाउँ, रूप्सेपानी, भदौरे, सरमथली, दनुस्वारा, लगायतका फलाखु खोला, धोवी खोला, अँधेरी खोला एवं पाहाखोलाको पानीले पौँच पुग्ने क्षेत्रका आसपासमा आलु रोप्ने किसानले प्राथमिकता दिँदै आएका छन् ।

दक्षिणी भेकका अधिकांश खेतबारीमा आलुको साथसाथै हिउँदे तरकारी रोप्नसमेत जागरण आइसकेको छ । यो वर्षको उत्पादित आलु बिक्रीबाट रु तीन करोड आय हुनसक्ने स्थानीय किसानले अनुमान गरेका छन् । आलुका अतिरिक्त दैनिक जीविकोपार्जन सहज हुने गहुँ, तोरी, मुला, बन्दा, काउली, हरिया साजसब्जी जस्ता तरकारीमा पनि जागरण बढिरहेको बनुवाका विष्णुप्रसाद आर्चायले बताए ।

आफ्नै खेतबारीमा अर्गानिक तरिकाले उत्पादन गरिएका थोरबहुत हिउँदे तरकारी बिक्रीको प्राप्त आयबाट अधिकांश किसानलाई नून, तेल जस्ता दैनिक अत्यावश्यक बस्तुको गर्जोटार्नसमेत सहज भएको आर्चायले जानकारी दिए । उत्तरी रसुवाका अधिकांश भागमा हिमपात हुने र केही भागमा जमिन अत्यधिक चिसो हुने भएका कारण राम्चेदेखि उत्तरतर्फको पूरै भागमा भने बर्षे आलु मात्र रोप्ने चलन छ । राम्चे, धुञ्चे, भार्खु, हाकु, गोल्जुङ, गतलाङ, यार्सालगायतका क्षेत्रमा फागुनको तेस्रो हप्तादेखि आलु रोप्ने काम सुरू हुने किसान रामकाजी तामाङले बताए । यतिखेर उत्तरी रसुवाका किसान बर्षेआलु रोप्नका लागि जमिन तयारी गर्ने काममा जुटेका छन् ।

फागुनमा रोपिएको आलु साउनको १५ देखि खन्न सुरु भई भदौसम्ममा बिक्री भइसक्ने र खरिदकर्ता गाउँटोलमै पुग्ने गरेका छन् । गएको वर्षा उत्तरी भेगमा करिब पाँच करोड बराबर बर्षे आलु उत्पादन भएको स्थानीय अनुमान रहेको छ ।
रसुवा जिल्ला हिमाली क्षेत्र भएको र गाई बाख्रापालन गरेर बारीमा मलखादको व्यवस्था गर्ने, विषादी औषधि प्रयोग नगर्ने परम्परा भएका कारण रसुवामा उत्पादित आलु बिक्रीले पहिलो प्राथमिकता पाउने गरेको किसान याकबहादुर लिम्बू बताए ।

विसं २०४० अगाडिसम्म काउली, आलु, लसुन, प्याज आदि खरिद गर्न पनि नुवाकोटको त्रिशूली बजार पुग्नुपर्ने थियो भने अहिले प्रत्येक किसानका बारीमा सब्जी उत्पादन हुनथालेको बताउँदै स्थानीय किसान भवनाथ पौडेलले भने , “सरकारले कृषि क्षेत्रमा ल्याएको जागरण जनहितकारी बन्दै गएको छ ।” पहिला परम्परागत मुला र रायोको सागमात्र उत्पादन गरिन्थ्यो भने अहिले कृषिको जागरण र सिँचाइको व्यवस्थापनले दैनिक तरकारीको परिकार फेरेर खाने चलन आएको बताइन्छ । –रासस

Ad

RELATED POSTS

YOUR FEEDBACK: