कार्यकक्षभित्रै दुई महिला कर्मचारीलाई बन्धक बनाएर ज्यान मार्ने धम्की

Ad
  • Kalopati

दैलेख । दैलेखको दुल्लु नगरपालिका– ९ को वडा कार्यालयमा कार्यरत दुई महिला कर्मचारीलाई स्थानीयले पाँच घन्टा कार्यकक्षभित्र काम गरिरहेका बेला बन्धक बनाएर अपशब्द प्रयोग गर्दै ज्यान मार्ने धम्की दिएको छन् ।

स्थानीय प्रेमबहादुर भण्डारीसहितको टोलीले कार्यालयमै पुगेर बिहान ५ घण्टा भन्दा बढी वडासचिव रत्ना गिरी र सामाजिक परिचालक भगवती न्यौपानेलाई बन्धक बनाएका हुन् ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार वृद्धभत्ताको कार्ड नामसारी गर्ने विषयमा विवाद भएपछि उनीहरूलाई बन्धक बनाइएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । कर्मचारीले कानुनविपरीतको काम गर्न नमिल्ने भनेपछि उनीहरूले बन्धक बनाएको बताइएको छ। घटनाबारे खबर पाएपछि सुरक्षाकर्मीको टोली वडा कार्यालय पुगेर बन्धक बनाइएका कर्मचारीको उद्धार गरेको थियो ।

कर्मचारीलाई उद्धार गर्न जाँदा केही स्थानीयले प्रहरीमाथि नै ढुंगामुडा गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख भुवनेश्वरप्रसाद शाहले बताए। घटनामा संलग्नमध्ये मुख्य योजनाकार प्रेमबहादुर भण्डारी फरार रहेका छन् भने अन्य ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

कर्मचारीको गल्ती भए सम्बन्धित निकायहरूमा उजुरी गरेर कर्मचारीलाई कारबाही प्रक्रिया सुरु गर्न सकिने प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए। तर, कानुन हातमा लिएर कर्मचारीलाई बन्धक बनाउनेहरूलाई कानुनअनुसार हदैसम्मको कारबाही गरिने उनले बताए।

Ad

RELATED POSTS

YOUR FEEDBACK: