धार्मिक महोत्सव सञ्चालनपूर्व साढे एक करोड सङ्कलन

Ad
  • Kalopati

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँकोटमा परमानन्द संस्कृत गुरुकूल पुनःसञ्चालनका लागि रु एक करोड ३० लाख सङ्कलन भएको छ । विसं २०५८ सालमा बन्द भएको पाठशाला सञ्चालनका लागि धार्मिक महोत्सवको तयारी भइरहेका बेला पाठशालाका लागि दाताहरुले सहयोग जुटाएका हुन् ।

पाठशाला पुनःसञ्चालनका लागि आगामी माघ १ देखि ७ गतेसम्म बिहुँकोटको रामकोट मन्दिरमा धार्मिक महोत्सवको आयोजना गरिएको छ । महोत्सवको पूर्वतयारीकै क्रममा उक्त रकम सङ्कलन भइसकेको मूल आयोजक समितिका सहसंयोजक गौरीशङ्कर शर्माले बताए । उनले मूल आयोजक समितिले देश–विदेशमा रहेका दाताले उक्त रकम मूल आयोजक समितिलाई उपलब्ध गराइसकेको जानकारी गराए । धार्मिक महोत्सवबाट रु चार करोड बढी रकम सङ्कलन गर्ने लक्ष्य राखिएको छ ।

महोत्सवको मूल सङ्कल्पकर्ता बिहुँकोट अन्तर्राष्ट्रिय समाजका अनुसार विगतको सस्शत्र द्वन्द्वताका गुरुकुल पाठशाला बन्द भएको थियो । रामकोटधामका संस्थापक दिवङ्गत स्वामी श्री १००८ परमानन्द सरस्वती महाराजका पालामा गुरुकुल सञ्चालनमा आएको थियो । समाजकै परिकल्पना र सङ्कल्पमा धार्मिक महोत्सव आयोजना हुन लागेको संस्थाका अध्यक्ष देवीलाल सुवेदीले बताउनुभयो । महोत्सवको व्यवस्थापकीय तयारीका लागि ३६ विभाग गठन गरी कामको जिम्मेवारी दिइएको छ ।

महोत्सवमा धवलागिरि र आसपासका क्षेत्रबाट श्रद्धालुको उल्लेख्य सहभागिता रहने आयोजकको दाबी छ । महोत्सवबाट सङ्कलित रकम संस्कृत गुरुकुल सञ्चालनमा खर्च हुने अध्यक्ष सुवेदीको भनाइ छ । गुरुकुल पुनःसञ्चालनको पवित्र उद्देश्य राखेर महोत्सव गरिनु सुखद् रहेको वडाध्यक्ष शिवप्रसाद कँडेलले बताए । संस्कृत पाठशालाले सनानत भाषा, संस्कृति र शिक्षाको संरक्षणमा टेवा पुग्ने उनको विश्वास छ ।

रामकोटधामका प्रधान संरक्षक एवं राष्ट्रिय सन्त समाजका अध्यक्ष श्री १००० स्वामी ज्ञानानन्द सरस्वतीले धार्मिक पर्यटनको प्रवद्र्धन र संस्कृत पाठशाला सञ्चालानार्थ आयोजित महोत्सवमा सबैले सहयोगको हातेमालो गर्नुपर्ने धारणा राखेको छ । उनले वैदिक सनातन धर्म, संस्कृति जोगाउन सबै कस्सिनुपर्ने बेला आएको बताए ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: