जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगितामा काठमाडौं महानगरपालिकाको जित

Ad
  • Kalopati

काठमाडौं । काठमाडौं महानगरपालिकाले दोश्रो बागमतीस्तरीय जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ ।

६ स्वर्ण, ५ रजत र १ कांस्य जित्दै आयोजकको २ सहित २० टिम सहभागी प्रतियोगितामा काठमाडौं समग्रमा टिम च्याम्पियन बन्यो । जैशीदेवल युथ क्लबद्वारा आयोजित प्रतियोगितामा ३ स्वर्ण, १ रजत र ४ कांस्य जितेको पनौती नगरपालिका दोश्रो भयो । तेश्रो स्थानको गोदावरी नगरपालिकाले ३ स्वर्ण र ३ कांस्य हात पायो । प्रतियोगिताको ग्योरोगीतर्फ पुरुषमा आयोजक ‘ए’ का राहुल लिम्बू तथा महिलामा कागेश्वरी मनोहरा नगरपालिकाकी अनुज्ञा सापकोटा उत्कृष्ट खेलाडी घोषित भए । दुवैले जनही १ सय ५० अमेरिकी डलर नगद पुरस्कार प्राप्त गरे ।

काठमाडौं महानगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगिताअन्तर्गत पुम्सेको पुरुषमा श्रृजल श्रेष्ठ उत्कृष्ट खेलाडी चुनिए । पुम्सेमै पेयर विधामा स्वर्ण जितेका नागर्जुन नगरपालिकाका आशिष श्रेष्ठ र मोनिका मगर संयुक्त रुपमा उत्कृष्ट खेलाडी घोषित भए । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगितामा काठमाडौंका गौरव रजक उत्कृष्ट प्रशिक्षक बने । निर्णायकको पुरुषमा कागेश्वरीका भीम तुम्बापो र महिलामा काठमाडौंकी बन्दना राई उत्कृष्ट ठहरिए । पेयरमा उत्कृष्ट भएका बाहेक सबै उत्कृष्टले समान १–१ सय अमेरिकी डलर नगद पुरस्कार पाए । पेयरका उत्कृष्टलाई जनही ५०–५० अमेरिकी डलर प्रदान गरियो ।

विजेतालाई काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, आयोजक क्लबका अध्यक्ष राजेश प्रजापतिलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यस्तै २० वटै स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई क्रमशः २ हजार, १ हजार ५ सय र १ हजार नगद पुरस्कार प्रदान गरिएको थियो । दुईदिने प्रतियोगितामा ४ सय खेलाडीले विभिन्न २० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

 

Ad

RELATED POSTS

YOUR FEEDBACK: