राष्ट्रियसभा सदस्य निर्वाचन कार्यक्रम स्वीकृत पुस २० गते उम्मेद्वारी दर्ता

Ad
  • Kalopati

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन कार्यतालिका र निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ ।

स्वीकृत कार्यतालिका अनुसार निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले निर्वाचन प्रयोजनका आगामी पुस १ देखि १० गतेसम्म दर्ता गर्नुपर्नेछ । निर्वाचन कार्यक्रम अनुसार आगामी पुस १७ गते निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुने र प्रकाशित नामावलीमा नाम समावेश हुन छुट भएका व्यक्तिले आफ्रनोमा समावेश गर्नका लागि दरखास्त दिनसक्नु हुनेछ ।

आयोगका अनुसार, मतदाता नामावलीमा नाम समावेश भएको व्यक्तिले सोही मितिमा नाम थर उमेर, पद आदि सच्याउन दरखास्त दिने तथा प्रकाशित नामावलीमा उल्लेख भएका मतदाताको विरोधमा उजूरी दिनसक्नेछन् ।

यसैगरी पुस १८ र १९ गते निवेदन तथा उजूरी उपर छानबिन र कारबाही गर्ने एवं अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम छ । आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलका अनुसार, पुस २० गते उम्मेद्वारको मनोनयनपत्र दर्ता गर्ने र मनोनयनपत्र दर्ता भएको उम्मेद्वारको सूची प्रकाशन गरिने छ ।

पुुस २१ गते उम्मेद्वारको विरोधमा उजूरी दिने, पुस २२ र २३ गते मनोनयनपत्र र उजूरी उपर जाँचबुझ गरी निर्णय गर्ने तथा उम्मेद्वारको नामावली प्रकाशन गर्ने, पुस २४ गते उम्मेद्वारले नाम फिर्ता लिने, पुस २५ गते उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गर्ने निर्वाचन कार्यक्रममा उल्लेख छ ।

माघ १२ गते बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म तोकिएका मतदान केन्द्रमा मतदान हुने कार्यक्रम छ । –रासस

Ad

RELATED POSTS

YOUR FEEDBACK: