म्याग्दीका ग्रामीण भेगमा लोप हुँदै ढिँकी, जाँतो र घट्ट

Ad
  • Kalopati

गलेश्वर । विद्युत् सेवा विस्तार भएसँगै गाउँका टोलटोलमासमेत मिल राख्न थालिएपछि कुटानीपिसानीका रैथाने प्रविधि ढिँकी, जाँतो,घट्ट र कोल म्याग्दीका ग्रामीण भेगबाट लोप हुने अवस्थामा पुगेका छन् । जिल्लाका प्रायःसबै गाउँमा विद्युत् सुविधा पुगेको र गाउँमा नै कुटानीपिसानी मिल सञ्चालन हुन थालेकाले ग्रामीण जीवनको पहिचान बोकेका रैथाने प्रविधिबाट निर्माण गरिने कुटानीपिसानीका परम्परागत साधन लोप हुने अवस्थामा पुगेका हुन् । आधुनिक प्रविधिका साधन प्रयोग गर्न सजिलो र समयको बचतका साथै मानिसमा बढ्दै गएको सुविधाभोगी प्रवृत्तिका कारण ग्रामीण जीवनको सौन्दर्यका रुपमा चिनिएका यस्ता रैथाने प्रविधि हराउँदै जान थालेका गाउँका वृद्धवृृद्धा बताउछन् ।

घण्टौं लगाएर ढिँकी,जाँतो चलाएर कुट्ने, पिस्ने गर्नुभन्दा सस्तो दरमै मिलमा लगेर छोटो समयमा नै धेरै अन्न सजिलैसँग कुट्न, पिस्न सकिने भएकाले गाउँघरबाटसमेत परम्परागत कुटानी पिसानीका साधन लोपहुँदै गएका बेनी नगरपालिका–२ बगरफाँटका बृद्ध बेदप्रसाद उपाध्यायले बताए । उनले भने , “धान, गहुँ, कोदो, र पिठोका लागि ढिँकी, जाँतोकोे प्रयोग हुने गथ्र्यो तर अत्याधुनिक प्रविधिले परम्परागत ढिँकी, जाँतो प्रयोग गर्ने चलन हराइसक्यो ।” उनले भने , “ढिँकी जाँतोको के कुरा गर्ने, अहिले त गाउँका मिलसमेत बन्द हुने अवस्थामा पुगिसके, अनुदान पनि पाइने साथै थोरै लगानीमा पनि घरमै राख्न मिल्ने भएकाले घर घरमै पनि मिल राख्न थालिएको छ ।”

जिल्लाका ग्रामीण क्षेत्रका पुराना केही घरमा ढिँकी, जाँतो देखिए पनि ती प्रयोगमा नआउदा अलपत्र अवस्थामा पुगेका छन् । बगरफाँटकी अर्का बद्धा यामकुमारी शर्माले आफूले जान्ने भएदेखि ५५÷६० वर्षको उमेरसम्म ढिँकी जाँतोबाटै कुटानी पिसानी गरी अन्नको जोहो गर्दै आएको अनुभव सुनाए ।“अहिलेजस्तो त्यतिबेला टोलटोलमा र घरघरमा मिल र मिक्चर थिएनन्, धान कुट्न र गहुँ, कोदो, मकैलगायत अन्न पिस्न ढिँकी जाँतोको नै प्रयोग गरे । राति खाना खाएर घरका अरु मान्छे सुतेपछि बुहारीहरु ढिँकी जाँतोमा अनि बिहान सबेरै उठेर पनि ढिँकी जाँतोमै हुन्थे । हाम्रो आदी जिन्दगी त ढिँकी जाँतोमा नै बितेको हो ।”

विगतमा गाउँका मानिस बर्खायाम सुरु हुनुभन्दा अगाडि निकै फुर्सदिला हुन्थे र एकै ठाउँमा भेला भएर पालैपालो एउटै ढिँकी जाँतोमा अन्न कुट्ने पिस्ने गर्दथे, तर त्यो पनि अहिले किबंदन्ती जस्तै बन्दै गएको ज्यामरुककोटकी देवकुमारी थापाले बताउनुभयो । बगरफाँटमा कुटानीपिसानीको मिल सञ्चालन गर्दै आउनुभएका बगरफाँट कार्की राइस मिलका सञ्चालक हरि कार्कीले ढिँकी जाँतो होइन गाउँ–गाउँमा पनि मिल सञ्चालनमा आएकाले अहिले त यो मिलमा कुटानीपिसानी गराउन आउनेको सङ्ख्यासमेत घटेको बताए ।

“आधुनिक कुटानीपिसानी मिलबाट समय र श्रमको बचत हुने भएपछि पुराना ढिँकी जाँतो पनि हराउँदै गए । मिल आएपछि समय र श्रम दुबैको बचत भएको छ” रोहोटेकी गृहिणी सविता घिमिरेले भने । अत्याधुनिक प्रविधिका गाउँगाउँमा मिल खुल्नु र अहिले गाउँघरमा ढिँकी जाँतो गर्ने मनिस पनि नहुने भएकाले यस्ता परम्परागत शैली र पहिचानका सामग्री लोपहुँदै जान थालेको उनको भनाइ थियो ।

परम्परागत रैथाने प्रविधिका साधन लोप हुनाका साथै एकापसको सौहार्दता, सामूहिकता र आत्मियता पनि हराउँदै गयो । सुविधाभोगी प्रवृतिका कारण पूर्खाको सीप र साधन त हराए हराए, आपसी सम्बन्ध पनि टाढिन पुगेको यहाँका बढापाकाले बताए ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: