पशुपति क्षेत्रमा भक्तजनको भीड, बाला चतुर्दशी मेलाको तयारी पूरा

Ad
  • Kalopati

काठमाडौँ । दिवङ्गत पितृका नाममा महादीपदान गर्न आउने भक्तजनको आज बिहानैदेखि पशुपति क्षेत्रमा भीड लाग्न थालेको छ ।

बेलुकी बत्ती बालिने भए पनि आज पशुपति क्षेत्रमा लाखौँ भक्तजन आउने भएकाले ठाउँको व्यवस्था गर्न बिहानैदेखि भक्तजन आएका हुन् । पशुपति क्षेत्रमा सहजरुपमा बत्ती बालेर बस्ने स्थान पाउन मुस्किल हुने गरेको तेह्रथुमबाट बत्ती बाल्न आएका श्याममणि ढुङ्गानाले गुनासो गरे ।

मार्गशीर्षकृष्ण त्रयोदशीको बेलुकी पशुपतिनाथमा दिवङ्गत पितृका नाममा महादीपदान गरिन्छ । रातभर जाग्राम बसेर मार्गशीर्षकृष्ण चतुर्दशीका दिन बिहान दीप वाग्मतीमा सेलाएर पशुपति क्षेत्रका विभिन्न स्थानमा शतबीज छरिन्छ । यसो गरेमा दिवङ्गत पितृको सद्गति हुनुका साथै शान्ति पाउने धार्मिक विश्वास छ । पशुपति क्षेत्रमा बाला चतुर्दशी मेलाका सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकले आज बिहानदेखि पशुपति क्षेत्रमा सुरक्षाका सबै व्यवस्थापन गरेको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए । यसका लागि भकुण्टोलस्थित कारपार्कमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा मूल शिविर खडा गरिएको छ ।

पशुपति क्षेत्रको मुख्य भागस्थित शतबीज मार्ग र बत्ती बाल्ने स्थानमा आवश्यकताअनुसार सुरक्षाकर्मीको परिचालन गरिएको छ । सुरक्षाकर्मीले पशुपति क्षेत्रमा मांस, मदिरा एवं नशालु पदार्थको सेवन तथा बिक्री वितरण पूर्णरुपमा निषेध गरेको छ । यसका लागि अनुगमन गर्न प्रभावकारी संयन्त्र निर्माण गरिएको कोषले जनाएको छ ।

शतबीज छर्न विशेषरुपमा भक्तजनको भीड लाग्ने मृगस्थली क्षेत्रमा पनि कोषका सुरक्षाकर्मीसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटाइएको छ । भुवनेश्वरीअघि शङ्कराचार्य मठको पश्चिम बाटोमा सामुदायिक प्रहरी र स्वयंसेवक परिचालन गरिएको छ । खोजखबर केन्द्र पनि त्यस क्षेत्रमा सञ्चालन गरिँदैछ । रासस

Ad

RELATED POSTS

YOUR FEEDBACK: