बेमौसमी वर्षाको पीडाः काटेर राखेको धान खेतमै उम्रियो

Ad
  • Kalopati

कञ्चनपुर । लगातार चार दिनसम्मकोे वर्षा पछि घाम लाग्न सुरु भएको छ । कञ्चनपुरका किसान झरीले निथ्रुक्क भिजाएको धान सुकाउनमा खेतमा व्यस्त छन् । सुकाउन राखिएको धान भिजेकाले उम्रिन थालेको छ । पानी सुक्न नपाएको खेतमा काटेको धानको परालसहितका बाला कुहिएका छन् ।

लालझाडी गाउँपालिकाको कञ्जका किसान नन्दला राना खेतको धान बाली भित्र्याउन नपाउँदै उम्रिन थालेपछि निकै चिन्तित भएका छन् । “लगातारको चार दिनको वर्षाले खेतमा काटेर राखेको आधाभन्दा बढी धान बगाएर लग्यो”, उनी भन्छन्, “बग्नबाट बचेको धान उम्रिन सुरु भएको छ । केही धान बाला सहित कुहिएको छ ।” दुई बिघा खेतमा लगाइएको धान वर्षभरि खानका लागि राखेर रानाले बेच्नसमेत भ्याउथे । बेचेको धानबाट परिवारको खर्च धानिँदै आएको थियो ।

“समयमै वर्षा हुँदा धान समयमै रोप्न पाएका थियौँ । खेतमा धानका बाला विगतको तुलनामा निकै राम्रो थियो”, उनी भन्छन्, “बाली भित्र्याउने बेलामा परेको पानीले सबै सखाप पार्यो । बेच्दै आएको धान अब खरिद गरेर खानुपर्ने अवस्था आइलागेको छ ।” उनको जस्तै लालझाडी गाउँपालिकाका अधिकांश किसानको खेतमा काटेको धान दोदा नदीले बगाएकोे छ । खेतमा बचेको धान कुहिए पछि कामै नलाग्ने भएको छ ।

शुक्लाफाँटा नगरपालिका–२ रानीपुरका किसान भोला चौधरीले पानी पर्नुअगावै खेतबाट धानका मुठा बाँधेर थ्रेसिङ गर्नका लागि थ्रेसरको खोजी गर्दै थिए । थ्रेसर खोज्न नपाउँदै पानी पर्या । एक बिघा अधिया लगाएको पूरै धान खेतमै भिज्यो । “खेतबाट धान उठाउनै पाएनौँ”, उनी भन्छन्, “पानीले सबै धान भिज्यो । पानी पर्दै गरेका बेला खेतकै आलीमा लगेर धान राखे पनि बालामै धान उम्रिएको छ ।

धान लगाउनका लागि गरेको मिहिनेत खेर गयो । जोताइ, बीउ, मलखाद, सिँचाइ गर्दा र खेताला लगाउँदाको खर्चसमेत नउठ्ने भयो । परिवार पाल्नैका लागि मजदूरीमा जानुपर्ने अवस्था आइलाग्यो ।” कोरोनाको महामारी रहेकै बेला मजदूरी पनि पाउन मुस्किल भएको उनको भनाइ थियो । धान रोप्नका लागि महँगोमा मलखाद र बीउ खरिद गर्नुपर्ने, जोताइ, सिँचाइ र खेताला लगाउँदासमेत सहकारी र समूहबाट कर्जा लिनुुपर्ने अवस्थामा वर्षाले पूरै बालीमा नोक्सानी पुर्याए पछि किसान विचल्लीमा परेको नेपाल किसान सङ्घका केन्द्रीय सदस्य शेरबहादुर साउदले बताए ।

“वर्षाका कारण धानबालीमा नोक्सानी बेहोरेका किसानलाई सरकारले तत्काल क्षतिपूर्तिको व्यवस्था गर्नुपर्छ”, उनी भन्छन्, “किसान अन्नदाता हो । सबैको पेट पाल्दछ । किसान अप्ठेरोमा परेका बेला सरकारले हेर्नुपर्दछ । किसानले अन्न उत्पादन नगरे भोकभोकै बस्ने बेला आउन सक्छ । त्यसैले किसानको मार्कालाई बुझेर सरकारले मालपोत, सिँचाइमका लागि विद्युत महशुल मिनाहासँगै अनुदानमा बीउबिजन उपलब्ध गराउने व्यवस्था गर्नुपर्दछ ।” वर्षाको पानीले खेतको धान नोक्सान भएकै बेला जङ्गली हात्तीले समेत बाँकी रहेको धानमा क्षति गर्न थालेकाले किसानलाई त्यसको समेत क्षतिपूर्ति दिइनुपर्ने उनको जिकिर थियो ।

मौसमविद्ले पहिल्यै भारी वर्षा हुने कुरा बताए पनि त्यो कुरा किसानसम्म पुग्न नक्दा धानबाली र तरकारी बालीमा ठूलो क्षति बेहोर्नुपरेको उनको भनाइ थियो । स्थानीय तहले समेत वर्षाको डुबान र बाढीबाट पीडित किसानको तथ्याङ्क संकलन गर्न थालेका छन् । धान, तरकारी बाली र उखु बालीको क्षतिको विवरण संकलन वडा कार्यालयबाटै गर्न थालिएको छ ।

शुक्लाफाँटा नगरपालिकाका प्रमुख दिलबहादुर ऐरले सात दिनभित्र वर्षाका कारण क्षति बेहोरेका किसानको विवरण संकलन गरी पठाउनका लागि वडा कार्यालयलाई निर्देशन दिइएको बताए । वडाले संकलन गरेको विवरण नगर विपद् समितिमार्फत कार्यपालिकामा लगेर क्षतिपूर्तिका लागि प्रदेश र सङ्घीय सरकारलाई अनुरोध गरिने उनले जानकारी दिए । “नगरको बजेटले सबै किसानलाई क्षतिपूर्ति दिन भ्याउदैन” उहाँले भन्नुभयो, “प्रदेश र केन्द्र सरकारलाई अनुरोध गर्छौं ।”

बेलौरी, पुर्नवास, कृष्णपुर नगरपालिकासँगै लालझाडी र बेलडाँडी गाँउपालिकाले समेत वर्षाले धानबालीमा क्षति गरेको विवरण संकलन अगाडि बढाएको छ । कृषि ज्ञान केन्द्रका अधिकृत रणबहादुर मल्लले स्थानीय तहका कृषि शाखामार्फत धानलगायत अन्य बालीको क्षतिको विवरण संकलन भइरहेको जानकारी दिए । “जिल्लाका नौवटै स्थानीय तहका कृषि शाखामार्फत क्षतिको विवरण संकलन भइरहेको छ”, अधिकृत मल्लले भन्छन्, “एक दुई दिनभित्रै क्षतिको विवरण उपलब्ध गराउन सकिन्छ ।” उनका अनुसार जिल्लाका २५ प्रतिशत किसानले मात्रै धान बाली भित्र्याउन पाएका छन् भने पचहत्तर प्रतिशत किसानको धान बालीमा वर्षाले क्षति गरेको छ ।-रासस

Ad

RELATED POSTS

YOUR FEEDBACK: