नौमती लोकबाजा संरक्षण गर्दै काठेखोला गाउँपालिका

Ad
  • Kalopati

गलकोट । काठेखोला गाउँपालिका–४ तङ्ग्रामका सरबहादुर परियार नौमती बाजा बजाएरै जीविकोपार्जन गर्नुहुन्छ । परियारले गाउँ समाजमा हुने बिहे, पर्व तथा मेला, महोत्सवमा बाजा बजाएर जीविका चलाउदै आउनुभएको छ । सरबहादुर मात्रै होइन उहाँका दर्जन बढी अग्रज र अनुजले यही पेशाबाट परिवारको जीविका चलाइरहेका छन् ।

तर, पछिल्लो समय नयाँ पुस्तामा नौमती बाजा प्रतिको रुची कम हुँदा बढी प्रचलित नौमती बाजा बजाउने संख्या घट्दो छ । नौमती बाजाको संरक्षण र यसका वाद्यवादकहरुलाई थप प्रोत्साहित गर्न नौमती बाजा समूहलाई काठेखोला गाउँपालिकाले एक÷एक थान (पुरै सेट) नौमती बाजा उपलव्ध गराएको छ । दलित समुदायका नयाँ पुस्ता विदेश पलायन हुँदा बुढापाकाले मात्रै नौमती बाजाको संस्कृति धान्दै आएका छन् ।

गाउँपालिका भित्रका अन्य ८ वटै वडाका नौमती पञ्चे बाजा समूहलाई एक÷एक सेट बाजा खरिद गरेर प्रदान गरिएको छ । नौमती बाजा समूह विहे, व्रतवन्धका साथै सुखद कार्यक्रममा शूभ कार्यका लागि बाजा बजाउने प्रचलन छ । पछिल्लो समय नौमती बाजामा सांस्कृतिक, सामाजिक हिसाबले महत्वपूर्ण भए पनि बजाउनमा नयाँ पुस्ताको चासो र इच्छाशक्ति नदेखिएकाले गाउँपालिकाले नौमती बाजा संरक्षण तथा सो बाजा बजाउने समुदायको जीवनस्तर उकास्न बाजा प्रदान गरेको काठेखोला गाउँपालिकाका कला संस्कृति तथा खेलकूद विकास समितिका संयोजक टीका सङ्गम विकले बताउनुभयो ।

आधुनिक समाज, तयारी गीत, प्रविधिको प्रयोग, कोरोनाले जर्बजस्त रोक लगाएको भिडभाडजन्य गतिविधि जस्ता कारण पुस्ता हस्तान्तरण नहुँदा नौमती बाजा बिस्तारै लोप हुँने अवस्थामा पुगेपछि पालिकाले नौमती बाजा संरक्षण अभियान थालेको संयोजक विकको भनाई छ । बाजा सेट प्रदान गर्न गाउँपालिकाले १० लाख बजेट बिनियोजन गरेको थियो । बाजा प्रदान गरे पछि स्थानीय बाजा समूहमा आवद्ध सबै उत्साहित भएका छन् । गाउँपालिकाले गत आर्थिक वर्षमा प्रत्येक वडामा नौमती बाजा खरिद गर्न एक लाख १८ हजार बजेट बिनियोजन गरेको थियो । अहिले प्रत्येक वडाका एक÷एक बाजा समूहले नयाँ नौमती बाजा खरिद गरेर बजाउन थालेका छन् ।

“गाउँपालिकामा लेखानीको बाजा समूहले बाजा माग गरेका थिए, उनीहरुको मागलाई अध्ययन गर्दा सबै वडामा यसको आवश्यकता महुसुस गरियो”, गाउँपालिका अध्यक्ष अमरबहादुर थापाले भन्नुभयो । आगामी दिनमा बाजा संरक्षणका लागि बाजा बजाउने तालिम समेत दिने गाउँपालिकाको योजना छ । दलित समुदायले वर्षौदेखि अँगाल्दै आएको यो संस्कृति पछिल्लो समय अन्य जाति र समुदायका मानिसले समेत व्यावसायिक रुपमा बजाउन थालेका छन् । -रासस

Ad

RELATED POSTS

YOUR FEEDBACK: