स्थानीय भन्छन् : “जिन्दगीको कुनै निश्चित छैन, कतिखेर महाकालीमा विलीन हुने हो, यो बाध्यता कस्ले बुझिदिने” ?

Ad
  • Kalopati

दार्चुला । सरकारले व्याँस गाउँपालिका–२ दुम्लीङ, राप्ला मालका लागि वैकल्पिक बाटोको व्यवस्था गर्न नसक्दा फेरि पनि तुइनमा झुन्डिँदै यात्रा गर्न बाध्य भएका हुन् । राप्ला र मालगाउँका सयौँ परिवार फेरि पनि तुइनमा झुन्डिएर वारपार गर्न थालेका छन् । सरकारले वैकल्पिक बाटोको विकल्प दिन नसक्दा उनीहरुले पुरानै शैलीको तारको प्रयोग गर्दै आवतजावत गर्न लागेका छन् ।

स्थानीय सरकारले माल गाउँका लागि हेलिकप्टरमार्फत खाद्यान्न गाउँ पुर्याए पनि दुम्लिङका स्थानीयवासीका लागि खाद्यान्न ढुवानी हुन सकेको छैन । खाद्य संस्थानले ठेक्कामार्फत चामल पुर्याउने भने पनि अझै पुर्याउन नसकेको स्थानीवासी प्रभात बुढाथोकी बताउछन् । उनी भन्छन्, गाउँमा खाद्यान्न ढुवानी हुन नसकेपछि बाध्य भएर फेरि पनि तुइनबाट खाद्यान्न ढुवानी गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

तुइनको जोखिम मोलेर दुम्लिङका स्थानीयवासीले खाद्यान्न र आवतजावत गर्नु परेको अर्का स्थानीयवासी महेन्द्र बुढाथोकी बताउछन् । उनका अनुसार बाटोको विकल्प छैन । तुइनबाट नगएर गाउँ पुग्न दुई दिनभन्दा बढी लाग्छ । “वर्षौंदेखि मजबुर भएर तुइनमा झुन्डिनु परेको छ”, उनी भन्छन्, “यो क्षेत्रमा राज्यको नजर कहिले पुग्ला ।” नेपालबाट दुम्लिङ पुग्न दुई दिन लाग्छ । भारतीय बाटो हुँदै जाँदा दुई घण्टामै गाउँ पुगिन्छ । यो क्षेत्रमा दुई वर्षअघिसम्म काठको पुलमार्फत महाकाली वारपार हुने गथ्र्यो । कोभिड-१९ को लहर आएसँगै यो क्षेत्रमा लगाइएको काठेपुल भत्काइएको हो । त्यसयता अहिले नागरिकले तुइन लगाएर आवतजावत गर्न थालेका हुन् ।

फेसबुकमा जलन बुढाथोकी लेख्नुहुन्छ, “जिन्दगीको कुनै निश्चित छैन, कतिखेर महाकालीमा विलीन हुने हो, यो बाध्यता कस्ले बुझिदिने ?” गत साउन १५ गते व्यास गाउँपालिका-२ कै जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएयता यहाँका नागरिकलाई पनि तुइनमा आवतजावत गर्न निकै डर लागेको छ । तर तुइनको विकल्प नभएपछि अहिले पनि उर्लंदो महाकालीमा आवतजावत गर्न बाध्य भएका हुन् । व्यासको दुम्लिङ सडक अहिले नै पुग्न सक्ने अवस्था छैन । यो क्षेत्रमा भर्खर मात्र नेपाली सेनाले सडक निर्माणको काम थालनी गरेको छ । मालगाउँ नजिकैबाट सेनाले काम सुरु गरेको छ । व्यास-३ तुसरपानी क्षेत्रमा सडक निर्माणमा भएको बेवास्ताले पनि नेपालीले दुःख पाएको दुम्लिङका स्थानीयवासी प्रभात बुढाथोकी बताउछन । उनी भन्छन्, “यस्तै छ, हाम्रो परिस्थिति नेपालीको बाध्यता राज्यको ध्यान नजानू ।” राज्यले ध्यान नदिएकै कारण मालमा घटना घटेको हो ।

मालघाटमा झोलुङ्गेपुल निर्माणका लागि ठेक्का भएको तीन वर्ष हुँदा पनि निर्माण कार्य अघि बढेको छैन । पुल निर्माण मात्रै भएको भए राप्ला, माल र दुम्लिङका नागरिकले राहत पाउँथे, मालका स्थानीयवासी नरेन्द्रसिंह धामी भन्नुहुन्छ, “मेरो दाइ बेपत्ता भएको महिनौँ भयो, अझै पनि सरकारले यो क्षेत्रमा पुल निर्माणका लागि ठेकेदारलाई घच्घच्याएको छैन । नवीनसिंह डोबाल भन्छन्, “व्याँसवासीका अनगिन्ती पीडा छ, महाकालीमा तुइन लगाउँदा अझै पनि छिमेकी भारतीयको त्रास छ ।” त्रासका बीच तुइनको डोरीमा आवतजावत गर्नुपरेको छ । एकातिर गाउँमा नुनतेल हुँदैन । खाद्यान्नलगायत दैनिक उपभोग्य समान भारतबाटै निर्यात गर्नुपर्छ । सरकारले तुइन बन्द भएको तीन महिनासम्म पनि खाद्यान्न ढुवानी गर्न नसक्दा स्थानीयवासीले फेरि जोखिम मोलेर तुइन लगाउन थालेका हुन् ।-रासस

Ad

RELATED POSTS

YOUR FEEDBACK: