काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले प्राकृतिक विपत्तिमा परेका नागरिकको जीवनरक्षामा ध्यान दिन मातहतका निकायलाई निर्देशन दिनुभएको छ । कास्की, तनहुँ र दाङका विभिन्न क्षेत्रमा विपद्का कारण धनजनको क्षति भएका दुखद् घडीमा तत्तत् जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई नागरिकको जीवनको रक्षाका लागि उपलब्ध स्रोत साधनको भरपुर उपयोग गरेर काम गर्न भन्नुभएको छ ।
तीनवटै जिल्लामा भएका मनसुनजन्य घटनाका बारेमा जानकारी लिँदै उहाँले विपद् जोखिम न्यूनीकरणमा सक्रियतापूर्वक लाग्न पनि आग्रह गर्नुभयो । गृहमन्त्री खाँणले कास्कीका प्रजिअ थानेश्वर गौतम र तनहुँका सागर आचार्यसँग लगातारको वर्षात्पछिको पहिराले पु¥याएको क्षतिबारे जानकारी लिनुभएको हो भने दाङमा बिहान भएको कार दुर्घटनाबारे प्रजिअ रामबहादुर कुरुम्बाङसँग जानकारी लिनुभएको हो ।
तनहुँका प्रजिअ आचार्यले जिल्लाको भानु नगरपालिकाको-११ मानेचौकामा गएको सुक्खा पहिराका कारण १२ घर जोखिममा परेको र उनीहरूलाई सुरक्षित स्थानमा सारिएको जानकारी दिनुभयो । “ती परिवारका लागि अस्थायी टहरा बनाउने काम सशस्त्र प्रहरीले गरिरहेको छ”, उहाँले भन्नुभयो ।
कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले पोखरा महानगरपालिकाको-२० र ११ मा गएको पहिरामा परी तीन जनाको मृत्यु भएको र एक जना बेपत्ता रहेको जानकारी गराउनुभयो । उहाँले पाँच जनाको घाइते अवस्थामा उद्धार गरिएको र बेपत्ताको अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार जारी राखेको जानकारी दिनुभयो ।
दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले सिस्नेखोलाले ३-०१-०२४ च ४४४० नंको कार बगाउँदा घोराही उपमहानगरपालिका-१५ का विमला केसी र राधा कुँवर तथा घोराही उपमहानगरपालिका-१३ का नीतामाया पुन र सुशीला श्रेष्ठको मृत्यु भएको गृहमन्त्री खाँणलाई जानकारी दिनुभयो ।-रासस