गुल्मीको इस्मा गुर्बाबाट हस्तिचौरसम्मको सडक अलपत्र अवस्थामा, सरकारको लगानी भयो बालुवामा पानी हाले सरह

Ad
  • Kalopati

तम्घास । गुल्मीको इस्मा गुर्बाबाट हस्तिचौर स्वास्थ्यचौकीसम्म करिब चार किलोमिटर सडक बनाउन इस्मा गाउँपालिकाले आव २०७५/७६ मा तीन लाख बजेट उपलब्ध गराएकामा देउरालीमुनिसम्म करिब एक किमी मात्र सडक खनियो । अर्को वर्ष सोही सडकका लागि पाँच लाख विनियोजन गरिएकामा स्वास्थ्य चौकीबाट ताप्केचौरसम्ममात्र सडक खनियो तर देउरालीमुनिसम्म जोडिएन । बीचमा ढुङ्गाको पहिरो छिचोलेर बाटो खन्न धेरै रकम लाग्ने भएपछि २०७७/७८ मा यसका लागि बजेट विनियोजन गर्नाको साटो प्रदेशसँग बजेट माग गरिएको वडा नं १ का वडाध्यक्ष चुराबहादुर खत्रीले बताउनुभयो ।

सडक खन्न ढिला भएकाले सरकारको लगानी बालुवामा पानी हाले सरह हुनाका साथै गुर्बासम्म गाडी पनि पुग्न पाएन । सडक निर्माणका क्रममा कारण राजकुमार नेपालीको घर जोखिममा परेको छ । इस्माकै झरना–हर्पुकोट मोटरबाटोको ट्रयाक खोलेको दशौँ वर्ष भइसक्दासमेत अझै त्यसको स्तरोन्नति गरिएको छैन ।

मुसिकोट नगरपालिका–४ को वडा कार्यालयबाट नगरपालिका जोड्ने नयाँ सडक आव २०७६/७७ बाट खन्न थालियो । दश किमी सडकका लागि रू १० लाख विनियोजन भयो । वडा नं ४ को हलोगाडेबाट खन्न सुरू गरिएको सडक क्वाटी नपुग्दै रोकियो । सडकले गर्दा १२ घर जोखिममा र तीन घर उच्च जोखिममा परेपछि सडक खन्ने काम बन्द गराइएको स्थानीयवासी विमल छन्त्यालले बताउनुभयो । काम रोकिएकाले गत वर्ष नगरपालिकाले विनियोजन गरेको रू सात लाख पनि खर्च भएन ।

विसं २०५५÷५६ मा रेसुङ्गा नगरपालिकाको गड्जुरा–बाँझपोखरी–पधेलीपोखरा हुँदै गाउँका धारा जोड्ने करिब चार किमी सडक खनिएकामा मर्मतका लागि गत आवमा रू ५० लाख विनियोजन भएको थियो । उक्त रकमले पर्खाल र नाली बनाउनेलगायत काम आधामात्र सम्पन्न भएको छ । । स्थानीय बासिन्दा चक्र केसीका अनुसार सडकमा पानी बग्ने र नाला नहुँदा समस्या भएको छ ।

स्थानीय तहको चुनावपछि खनिएका र वर्षौँ पुराना सडक मर्मत नहुँदा समस्या भइरहेको छ । मालिका गाउँपालिका–७ घमिर सिलादीबाट भानुपोखरा हुँदै गाउँपालिका केन्द्र अर्खबाङ्ग पुग्ने सडकको ट्रयाक खोलेको २२ वर्ष भयो । सिलादीबाट भानुपोखरासम्म सडक केही फराकिलो बनाइए पनि भानुपोखराबाट अर्खबाङ्गसम्मको सडक साँघुरै छ । उक्त सडक वर्षायाममा हिलाम्मे हुँदा बिरामी अस्पताल लैजान समस्या भएको घमिरका मनोज कार्कीले बताउनुभयो ।

जिल्लामा उपयोगविहीन नयाँ ट्रयाक धेरै छन् । स्थानीय तहको निर्वाचन भइसकेपछि जनप्रतिनिधिले सडक बनाउने कामलाई प्राथमिकता दिए । आव २०७४÷७५ देखि आव २०७७/७८ सम्ममा जिल्लाका १२ पालिकाले रू एक अर्ब १९ करोड एक लाख ५२ हजार ९४७ सडकका लागि खर्च गरेकामा, एक लाख ६३ हजार ५५३ दशमलव २४ किमी कच्ची सडक बनाउन र मर्मत गर्न तथा १४ किमी सडक पक्की गर्न प्रयोग भएको थियो ।

मदाने गाउँपालिकाले विगत चार आवमा ११ करोड ८४ लाख ८५ हजार रकम सडक निर्माणमै खर्च गरेको छ । कच्ची र मर्मत गरी ९६ हजार ५४५ किमी सडक खनिएकोे छ । पन्ध्र दशमलव पाँच किमी सडक ग्राभेल गरिएको सूचना अधिकारी ऋषि पोखरेलले बताउनुभयो । रूरूक्षेत्र गाउँपालिकाले पनि चार वर्षमा सडकका लागि ३९ करोड १० लाख खर्च गरेकामा ४२दशमलव ७८ किमी नयाँ सडक खनिएको र १४८ मिटर सडक कालोपोत्र गरिएको थियो ।

मुसिकोट नगरपालिकाले आव २०७४/७५ देखि २०७६/७७ सम्म सात करोड ३८ लाख चार हजारबाट ६५ हजार ६३ किमी मर्मत र दुई हजार ७०० मिटर सडक ग्राभेल गरेको छ । गुल्मीदरबार गाउँपालिकाले विगत तीन वर्षमा चार करोड ८२ लाख ८५ हजार सडकमा खर्चेकामा ११ दशमलव १२ किमी नयाँ र १६ दशमलव ९८ किमी सडक मर्मत गरेको छ ।
रेसुङ्गा नगरपालिकाले विसं २०७४/७५ देखि चार वर्षमा रू १० करोड ६९ लाखबाट १२५ दशमलव ४४ किमी सडकको नयाँ ट्रयाक खोलिएको, ४८.९३ किमी ग्राभेल गरिएको र १३.८६ किमी कालोपोत्र गरिएको प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले बताउनुभयो । एक हजार ३७२ किमीे नाली बनाइएको र प्रत्येक वडालाई सडक सरसफाइका लागि ५० लाखका दरले बजेट विनियोजन गरिएको उहाँको भनाइ थियो ।

सत्यवती गाउँपालिकाले विगत चार वर्षमा एक करोड ८७ लाख खर्चेकामा छ दशमलव सात किमी नयाँ र एक दशमलव पाँच किमी सडक मर्मत गरिएको छ । मालिका गाउँपालिकाले चार वर्षमा १४ करोड ८३ लाख १० हजार ७९० बाट ९५दशमलव पाँच किमी नयाँ, २५९ किमी मर्मत र तीन दशमलव ८ किमी सडक ग्राभेल गरेको छ ।
छत्रकोट गाउँपालिकाले दुई करोड ३० लाख ६० हजारबाट २१.३२ किमी नयाँ र १३.४८ सडक मर्मत गरेको छ । कालीगण्डकी गाउँपालिकाले १० करोड ६१ लाख ४८ हजारबाट ८३.५२ किमी नयाँ र २२ किमी सडक मर्मत गरिएको जनाएको छ । धुर्कोट गाउँपालिकाले आठ करोड २४ लाख ४५ हजार १५७ बाट ६१ किमी नयाँ सडक खनेकामा १३८दशमलव पाँच किमी स्तरोन्नति गरेको एक दशमलव ८३ किमी ग्राभेल गरेको थियो ।-रासस

Ad

RELATED POSTS

YOUR FEEDBACK: