सिन्धुपाल्चोकको पाँचपोखरीमा जनै पूर्णिमा मेला नलाग्ने

Ad
  • Kalopati

सिन्धुपाल्चोक । जनैपूर्णिमाका अवसरमा वर्षेनी एक हप्तासम्म मेला लाग्ने सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिकस्थल पाँचपोखरीमा यो वर्ष पनि मेला नलाग्ने भएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका अध्यक्ष टाँसी लामाले कोरोना महामारी बढ्दो क्रममा रहेकाले जनैपूर्णिमा मेला नगर्न आग्रह गर्नुभएको हो । गत वर्ष पनि कोरोनाका कारण मेला लागेको थिएन ।

मेला तथा जात्राले कोरोना सङ्क्रमण बढ्ने भएकाले मेला, जात्रा नगर्ने निर्णय गरिएको गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश पोखरेलले जानकारी दिनुभयो । यो वर्षको जनैपूर्णिमा भदौ ६ गते परेको छ । विभिन्न जिल्लाबाट सर्वसाधारण मेला भर्न पाँचपोखरी पुग्ने गरेका थिए । समुन्द्री सतहबाट करिब चार हजार ६० मिटर उचाइमा रहेको यो क्षेत्रमा सानाठूलो गरी पाँच वटा ताल रहेका छन् ।

यो पोखरी इन्द्रावती नदीको उदगम्स्थल हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रवद्र्धन गर्नुपर्ने नयाँ १०० वटा पर्यटकीय गन्तब्यमा सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरीलाई पनि छनोट गरेको छ । पाँचपोखरी मन्दिरमा ताजा मकै, काँक्रो, दूध लिएर भक्तजन चढाउन जान्छन् ।

विशेषगरी यहाँ जाने भक्तजन खेतीपातीमा उन्नतिको आशीर्वाद माग्ने गर्छन् । पाँचपोखरीमा रहेको भगवान् शिवको मन्दिरमा आई पूजा गरेमा सुख, शान्ति र महिलाले शिवसरह श्रीमान् पाउने र बिहेपश्चात् सन्तान नहुनेको मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।- रासस

 

Ad

RELATED POSTS

YOUR FEEDBACK: