भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गर्न गम्भीर कदम चाल्नुपर्ने : अर्थमन्त्री शर्मा

Ad
  • Kalopati

काठमाडौं । सरकारले कोराना विरुद्धको एक करोड मात्रा खोपको जोहो भइसकेको जानकारी दिएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाको आजको बैठकमा देशको आर्थिक अवस्थाका बारेमा जानकारी दिँदै वर्तमान सरकारको एक मात्र प्रमुख प्राथमिकता खोप मात्रै भएको बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको पहिलो, दोस्रो र तेस्रो प्राथमिकता खोप हो भन्नेमा जोड दिनुभएको तथ्य पेश गर्दै अर्थमन्त्रीले आफूले कार्यभार सम्हालेको दिन नै खोप खरिदका लागि पाँच अर्ब निकासा गरेको उल्लेख गरे । संविधान प्रदत्त समाजवाद निर्माण गर्दै वर्तमान सरकारलाई जनताप्रति उत्तरदायी बनाउने सरकारको प्रमुख कार्यभार रहेको स्पष्ट पार्दै अर्थमन्त्री शर्माले लोकतान्त्रिक तथा सामाजिक न्यायको मार्गमा आफूहरु निरन्तर लागि पर्ने बताए ।

पूँजी निर्माणलाई सरकारले विशेष प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले मूल्यवृद्धि नियन्त्रण, पूँजीगत खर्च बढाउने तथा आर्थिक वृद्धिको योजनालाई साकार बनाउने दृढता व्यक्त गरे । स्रोत सुनिश्चित नभई विभिन्न आयोजनाको शिलान्यास हुँदा र स्रोतको परिचालनमा विचलन हुने गरी योजना अगाडि सारिँदा अर्थतन्त्रमा समस्या परेको अर्थमन्त्रीको भनाइ छ ।

देशभर १८.७ प्रतिशत नागरिक गरिबीको रेखामुनि रहेको तथ्याङ्क पेश गर्दै अर्थमन्त्री शर्माले कोरोनाका कारण त्यसको मात्रामा वृद्धि भएकाले नीतिगत सुधार गरी गरिबी न्यूनीकरण गर्नु सरकारको प्राथमिकतामा रहेको बताए ।

योजना कार्यान्वयनमा रहेको कमजोरीका कारण राष्ट्रिय गौरवका आयोजना प्रभावकारी कार्यान्वयन हुन नसकेको स्पष्ट पार्दै उनले मेलम्ची खानेपानी आयोजना र माथिल्लो तामाकोशी त्यसको उदाहरण भएको उल्लेख गरे । भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गर्न गम्भीर कदम चाल्नुपर्ने अवस्था आएको अर्थमन्त्रीको भनाइ थियो ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: