कैलालीबाट फर्किएकी संक्रमित बालिका २४ घण्टा बित्न लाग्दा समेत क्वारेन्टाइनमै

Qurantine
Ad
  • Kalopati

काठमाडौं, वैशाख ३० ।

कोरोना भाइरसबाट संक्रमित बर्दियाकी ११ वर्षीया बालिकालाई पोजेटीभ देखिए पनि अझै अस्पताल लगिएको छैन। बर्दिया जिल्लाको राजापुर नगरपालिका ५ की ११ वर्षीया बालिकामा सोमवार साँझ कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार साँझ संक्रमण पुष्टि गरे पनि अहिलेसम्म उनलाई किसान माध्यमिक विद्यालयमा बनाइएको क्वाराइन्टाइन मै राखिएको छ।

कैलालीबाट फर्किएकी उनी हजुरआमासँग क्वारेन्टाइनमा थिइन्। उनमा संक्रमण पुष्टि भएसँगै प्रदेश ५ को स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोसनलाल चौधरीले आइसोलेसनमा पठाउन निर्देशन दिइएको बताए।

‘संक्रमण पुष्टि भएसँगै आइसोलेसनमा लैजानुपर्छ। हामीले सोही अनुसार निर्देशन दिएका हौं,’ प्रवक्ता चौधरीले भने, ‘अझै क्वारेन्टाइनमा रहेको भन्ने कुरा तपाईँले भनेपछि थाहा भयो। त्यस्तो गर्नु जोखिम हो। के भएको हो म बुझ्छु।’

जिल्ला प्रशासन कार्यालय बर्दियाले संक्रमित बालिकालाई कहाँ पठाउने भन्ने निर्णय लिन नसक्दा संक्रमणित क्वारेन्टाइनमै रहेकी हुन्।

‘हामीलाई कहाँ पठाउने भनेर निर्देशन आएको छैन। निर्देशन कुरेर बसेका छौं,’ राजापुर नगरपालिकाका मेयर शिवप्रसाद चौधरीले भने, ‘हामी तयारी अवस्थामा छौं। निर्देशन आउँना साथ पठाउँछौं।’

यता प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले कोरोना विशेष अस्पताल खजुरामा लैजाने विषयमा छलफल भइरहेको जानकारी दिए।

‘बालिकाको अवस्था सामान्य छ। त्यस्तै बालिकालाई कोरोना अस्पताल लैजानका लागि आवश्यक समन्वय तथा परामर्श भइरहको छ। र उनको परिवारका सदस्यसँग थप छलफल पनि भइरहेको छ,’ उनले भने, ‘नेपालगञ्जस्थित कोरोना अस्पतालका आइसोलेसन वार्ड भरिएको जानकारी आएपछि यहीं नै कुनै एउटा आइसोलेसन वार्डको व्यवस्था गरी साँझसम्म सम्भवत कोरोना अस्पताल खजुरामा नै पठाइन्छ होला।’

प्रदेश ५ को दाङमा हालसम्म कोराना भाइरसको संक्रमण पुष्टि भएको छैन। यहाँको अस्पतालमा बर्दियाबाट संक्रमित पठाइने तयारी भइरहेको हल्ला भएसँगै स्थानीयहरुले संक्रमितलाई दाङ ल्याउन नपाउने भन्दै विरोध गरिरहेको एक स्थानीयले बताए।

Ad

RELATED POSTS

YOUR FEEDBACK: