प्रतिनिधिसभा सदस्य गिरीको निधनमा शोक प्रस्ताव पारित

Ad
  • Kalopati

काठमाडौं । राष्ट्रियसभाले प्रतिनिधिसभाका सदस्य प्रदीप गिरीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभाको सोमबारको बैठकले सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेको हो ।

विसं २००६ मा सिरहाको बस्तीपुरमा जन्मिएका प्रतिनिधिसभाका सदस्य गिरीको ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारका क्रममा यही भदौ ४ गते शनिबार राति ९ः३० बजे निधन भएकामा राष्ट्रियसभाले गहिरो शोक प्रकटसमेत गरेको छ ।

स्वर्गीय गिरी नेपाली कांग्रेसबाट २०५१ सालको प्रतिनिधिसभाको निर्वाचनमा सिरहा निर्वाचन क्षेत्र नं ५ बाट निर्वाचित सदस्य, विसं २०६२÷६३ को जनआन्दोलनपछि पुनःस्थापित प्रतिनिधिसभा सदस्य, विसं २०६४ र विसं २०७० मा संविधानसभा सदस्य र विसं २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा सिरहा जिल्ला निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सदस्य थिए ।

बैठकले स्व गिरीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदनसमेत प्रकट गरेको छ । बैठकमा गिरीको निधनप्रति शोक व्यक्त गर्न एक मिनेट मौनधारण गरिएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही भदौ १२ गते अपराह्न १ बजे बस्नेछ ।–रासस

Ad

RELATED POSTS

YOUR FEEDBACK: