कञ्चनपुरका किसानलाई वर्षाले राहत, मल अभावले निराश

Ad
  • Kalopati

महेन्द्रनगर । गए रातिदेखि आएको वर्षाका कारण कञ्चनपुरका धान खेती गरिरहेका किसानलाई राहत भएको छ । लामो समय पानी नपर्दा आकाशे पानीको भरमा खेती गर्दै आएका किसान वर्षा हुँदा राहत भएको बताउँछन् । वर्षा नहुँदा जमिनको ‘पानीको सतह’ कम हुँदा बोरिङबाट पानी तान्ने पनि समस्या थियो ।  तर धान खेती गर्ने चटारो रहेका बेला कञ्चनपुरका मलखादको अभाव देखिएको छ । मलखादको अभावसँगै समयमा वर्षा नहुँदा सिँचाइको प्रबन्ध नहुँदा ४८ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने कञ्चनपुरका १० प्रतिशत मात्रै रोपाइँ सकिएको छ ।

कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख डा दिलबहादुर विष्टले मल अभाव रहेका बेला यहाँको खुल्ला सीमानाकाबाट आयात हुने भारतीय मल भने गुणस्तर नभएको बताए । “सरोकारवाला निकायमा मलखाद अभाव हुँदा किसान भरतीय बजारबाट मल ल्याएर खेतमा हालिरहेको भए पनि त्यो त्यति गुणस्तरीय छैन”, उनले भने , “यहाँ धेरै जसोमा सिँचाइ सुविधा रहे पनि कतिपय स्थानमा आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने अवस्था रहेको छ ।” यता किसान भने भारतबाट मल ल्याएर खेती गरिरहेका छन् ।

यहाँको बेदकोट नगरपालिका–९ का सञ्जय रानाले सीमावर्ती क्षेत्रबाट मल ल्याएर खेतमा हालिरहेको बताए । “भारतबाट रु दुई हजारमा ल्याउने मल यहाँको बजारमा रु दुई हजार पाँच सयमा किनबेच हुँदैछ”, उनले भने , “गाउँका धेरै किसान मलको अभावले खेती गर्न सकिरहेको अवस्था छैनन् ।” उनले सीमा क्षेत्रमा सुरक्षाकर्मीले मलखाद साइकल र मोटरसाइकलमा एक बोरा मात्रै ल्याउन दिइरहेको बताए । “कृषि सामग्रीबाट ल्याएर सहकारी मलखाद गाउँमा वितरण गर्थे”, रानाले भने , “कृषि सामग्रीले पनि केही समयअघि आधा बोराको दरले मौज्दान मलखाद किसानलाई वितरण गरेको थियो ।”

त्यसैगरी शुक्लाफाँटा नगरपालिका–६ का सुनिल रानाले मलखादको अभाव जहिल्यै खेती गर्ने समयमा हुने गरेको बताए । “खेती सुरु भइसक्दासम्म राज्यले मलाखद भित्र्याउने प्रबन्ध नगरेको सुनिन्छ”, रानाले भने , “सीमापारिबाट वैधानिक रुपले नमिल्दा हामी किसान जहिल्यै समस्यामा हुन्छौँ ।” यहाँस्थित कृषि सामग्री कम्पनी लिमिडेटका प्रमुख बलबहादुर शाहले जेठमा यहाँ ६ सय मेट्रिक टन मात्रै ढिएपी मल धान खेतीका लागि आएको बताए । “त्यो मल त्यही बेला सकिएयता अहिलेसम्म हामी कहाँ कुनै पनि मल आएको छैन”, शाहले भने , “असारको अन्तिमसम्म मलखाद यहाँ आउला कि भन्ने खबर छ ।”

त्यसैगरी साल्ट टे«डिङ कर्पोरेशन कञ्चनपुरका प्रमुख दीपक भट्टले एक हजार चार सय बोरा डिएपी मौज्दान रहेको बताए । उनले भैरवाहबाट मलखाद आउनासाथ आफूहरूले सहकारीमार्फत किसानलाई वितरण गरिरहेको बताए । “हामीकहाँ मल लैजाने १०२ वटा सहकारी आबद्ध छन्,” उनले भने , “मल पर्याप्त नरहे पनि अभाव नै भने भइसकेको छैन ।” –रासस

Ad

RELATED POSTS

YOUR FEEDBACK: