‘सबै ठूला सहरमा वर्गीकरण गरेर मात्रै फोहर विसर्जन गरिने छ’ : मन्त्री झाँक्री

Ad
  • Kalopati

काठमाडौं । काठमाडौं उपत्यकालगायत देशभरका ठूला सहरहरुमा स्रोतमा नै वर्गीकरण गरेर मात्रै फोहर विसर्जन गरिने भएको छ । सहरी विकास मन्त्रालयले यसो गर्दा ८० प्रतिशत फोहर स्रोतमा नै व्यवस्थित हुने भन्दै नगरपालिकाहरुसँगको सहकार्यमा यसलाई अघि बढाउन लागेको हो । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत आफ्नो मन्त्रालयमाथि उठेका जिज्ञासाको जवाफ दिँदै सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले ठूला सहरहरुमा फोहरमैला व्यवस्थापन समस्याका रुपमा रहेको बताए ।

व्यक्तिले फोहर गरेपछि त्यसको विसर्जन पनि सम्बन्धितकै पैसाबाट गर्ने भएपछि स्रोतमा वर्गीकरण हुने उनले बताए । फोहरमैला व्यवस्थापनको जिम्मेवारी स्थानीय सरकारको भएको र दुई स्थानीय तहको निर्वाचन भएपनि अहिलेसम्म ठूला सहरमा समस्या ज्यूँका त्यूँ भएको उनको भनाइ थियो । उनले भने , “अहिले हामीले समन्वय गरेर फोहर व्यवस्थापनमा लागेका छौँ ।” मन्त्रिपरिषद्ले स्थानीय तहमा फोहरमैला व्यवस्थापनमा प्राविधिक सहायता उपलब्ध गराउन मन्त्रीको अध्यक्षतामा फोहरमैला व्यवस्थापनका लागि प्राविधिक केन्द्र बनाएको छ । कुन फोहरलाई कसरी विसर्जन गर्ने भनी सहायता गर्ने उद्देश्य रहेको सो केन्द्रको सङ्गठन र व्यवस्थापन ओएन्डएम बन्ने क्रममा रहेको उनले जानकारी दिए ।

मन्त्रालयले बञ्चरेडाँडामा निर्माण गरेको फोहर व्यवस्थापन केन्द्रलाई व्यवस्थित रुपमा सञ्चालन गरिने र स्थानीयवासीका समस्या समाधन गर्दै अघि बढ्न आफूले समन्वय गरिरहेको मन्त्री झाँक्रीले बताए । नुवाकोटको सिसडोलमा दुई वर्षका लागि बनाइएको ठाउँमा १७ वर्षसम्म फोहर फाल्दा समस्या आएको सो अवसरमा जानकारी दिइयो । स्थानीयवासीको स्वास्थ्य लगायतका समस्या समाधानमा लागिएको जनाइएको छ । नास्टको अध्ययनका आधारमा गन्ध हटाउन महानगरपालिकाले काम गर्ने छ । उनले भने , “अहिले १० शय्याको अस्पताल बनाउन ठाउँ खोजिएको छ, एक महिनामा कहाँ बनाउने भनी अध्ययन सकिनेछ ।”

बञ्चरेडाँडामा निर्माण सुरु गरिएको भए पनि विभिन्न कारणले सुस्त रहेको ‘ल्यान्डफिल साइट’ को निर्माण समस्या समाधान गरेर अघि बढाइएको छ । असारसम्ममा सो सम्बन्धी निर्माण सम्पन्न गर्न लागिएको उनले जानकारी दिए । विगतमा सरकारले स्थानीयवासीसँग सम्झौता धेरै गरे पनि कार्यान्वयन नहुँदा पटक पटक फोहोर व्यवस्थापनमा कठिनाइ भएको छ । अहिले फोहरमैला व्यवस्थापनकै लागि सडक स्तरोन्नति गर्ने र फोहर बोक्ने डेडिकेडेट सडक बनाउने जनाइएको छ । बञ्चरेडाँडामा सिसडोलको कथा दोहोरिन नदिने गरी विसर्जन गरिने मन्त्री झाँक्रीको प्रतिबद्धता छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: