मतदाता भन्छन् : हामी भोट दिन्छौँ, हामीलाई विकास दिनुहोस्

Ad
  • Kalopati

झापा । जिल्लामा चुनावी प्रचारप्रसार अभियानलाई सबै राजनीतिक दलहरुले तीव्र बनाएका छन् । सहरदेखि गाउँसम्म आ–आफ्ना पार्टीका झण्डा फहराउँदै चुनावी गीतमा नाच्दै र रमाउँदै हिँड्नेमा नेतादेखि कार्यकर्ताको ताँती छ । सत्तारुढ गठबन्धनमा रहेका दलहरु, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा ९एमाले० र अन्य राजनीतिक दलहरु आ–आफ्नै चुनावी एजेण्डा लिएर मतदाताको घरदैलामा पुग्न थालेका छन् ।

शिक्षा, स्वास्थ्य र रोजगारीलाई पहिलो प्राथमिकतामा राखेर तयार गरिएका प्रतिबद्धता पत्रसहित आफ्नै घरको आँगनमा उम्मेदवारलाई भेट्दा मतदातासमेत उत्साही बन्नेको दृश्य रोमाञ्चक देखिन्छ । विशेष गरेर मुख्य पदका उम्मेदवार गाउँमा पुग्दा भोट मात्र माग्दैनन् । मतदाताको समस्या बुझ्दै डायरीमा नोट गर्दै आफूले जितेमा सबै काम गरिदिने प्रतिबद्धतासमेत जनाउने गरेका छन् । मेचीनगर नगरपालिका–१५ स्थित भण्डाबारी टोलकी ७५ वर्षीया डुकु मुर्मुले विगतमा जस्तो चुनावी चहलपहल यसपालि नभएको बताउँछन् “पहिला–पहिला त घरघरमा झण्डा राखिदिने, चुनाव प्रचारमा हिंडेवापत दैनिक ज्याला दिनेसम्म गर्थे”, उनले भन्छन् , “यसपालि चाहिँ त्यसो गर्ने कोही आएनन् ।”

पहिलोपटक चुनावमा भाग लिन लाग्नुभएका मेचीनगर–१४ का १९ वर्षीय दीपेन्द्रकुमार न्यौपानेले भने उत्साही छन् । उनि भन्छन् , “बुबा, आमा, दाजु दिदीले भनेको पार्टी र व्यक्तिलाई भोट दिन्न । जनताको लोकप्रिय, युवाको समस्या पहिचान र समाधान गर्नेलाई दिन्छु ।” उहाँले दैनिकजसो घरमा विभिन्न पार्टीका उम्मेदवार लर्को लागेर भोट माग्न आउने गरेको बताए । राजनीतिक दलहरुले बिहान ६ बजेदेखि नै चुनावी अभियान सुरु गर्ने र आफ्ना उम्मेदवारलाई लिएर बाजागाजासहित हिँड्ने गरेका छन् । यसरी हिँड्दा कतिपय स्थानमा अन्तरदलीय उम्मेदवारबीच भेट हुँदासमेत एक अर्कामा अँगालो मारेर आत्मीयता साटेको देखिन्छ ।

मेचीनगर–१५ का ८३ वर्षीय कालिन्द्र राजवंशीले विगतमा भन्दा यसपालिको चुनाव पृथक लागेको बताउनुभयो । उनले भन्छन् , “गाउँघरमा चुनाव आएपछि वल्लोपल्लो घरबीच बोलचाल बन्द हुन्थ्यो । कसले ठूलो झण्डा राख्ने भन्ने होडबाजी नै चल्थ्यो । यसपालि शान्त छ ।” यसपालिको चुनावमा त्यस्तो केही नभएको र जुनसुकै पार्टी भए पनि हाम्रोलाई नभएर राम्रोलाई भोट दिऊँ भन्दै सरसल्लाह हुने गरेको उनको भनाइ छ । उनले आफूले भोट दिएर जिताएका जनप्रतिनिधि फेरि फर्केर गाउँ आएर बाटो, पानी, ढल, शिक्षा, स्वास्थ्यको बारेमा चासो राखेर काम गरुन् भन्ने अपेक्षा व्यक्त गरे । उनले भने , “हामीले मत दिन्छौँ उनीहरुले विकास दिनुपर्‍यो ।” –रासस

Ad

RELATED POSTS

YOUR FEEDBACK: