उत्पादित वस्तु बजारीकरण गर्न हरियो बजार सञ्चालनमा, सहज बिक्री वितरण हुँदा किसानहरु हर्षित

Ad
  • Kalopati

तुलसीपु । किसानले उत्पादन गरेको बस्तु बजारीकरण गर्न सञ्चालन गरिएको हरियो बजारका कारण सहज भएको छ । घोराही उपमहानगरपालिका–१५ काठेकोहलमा ‘हरियो बजार’ सञ्चालनमा आएको छ । जाल्पा लघुवित्त वित्तीय संस्थामा आबद्ध सदस्य तथा यस क्षेत्रका किसानले उत्पादन गरेका कृषि तथा पशुजन्य वस्तु खरिद गरी प्रशोधनपछि बिक्री वितरण गर्ने योजनाअनुसार हरियो बजार सञ्चालनमा आएको हो । संस्थाका लुम्बिनी प्रदेश प्रमुख पवन योगीका अनुसार किसानले उत्पादन गरेपछि बजार पाउन नसकेको कृषिजन्य वस्तु र पशुजन्य पदार्थलाई बजारीकरण गर्ने उद्देश्यले उक्त बजार सञ्चालनमा आएको हो । त्यो बजार सञ्चालनमा आएपछि किसान खुसी भएका छन् ।

“पहिले दूध विक्दैनथ्यो, ४०÷४५ रुपैयाँ प्रतिलिटर बेच्नु पथ्र्यो”, तुलसीपुर–१६ भोजपुरका कृष्णमणि शर्माले भने , “अहिले सहज भएको छ ।” अहिले हरियो बजारले रु ६५ प्रतिलिटरमा दूध खरिद गर्छ । “पहिले बजार भाउ पाउनै गाह्रो थियो”, उनले भने , “अहिले बजारका लागि पनि समस्या छैन, मूल्य पनि राम्रै पाएका छौँ ।” मह उत्पादन गर्ने किसान पनि खुसी छन् । यसरी करिब पाँच हजार किसानलाई हरियो बजारले खुसी बनाएको छ । किसानले उत्पादन गरेको दूध, मह, तरकारी, खाद्यान्नलाई प्रशोधन गरेर बजारीकरण गर्ने गरिन्छ । किसानले गहुँ, तोरी, धान, मकै, चना, खुर्सानी, तिल, च्यूरा, भट्ट, गहत, गेँडागुडी राजमालगायत दाल पनि ल्याउने गरेका छन् ।

त्यति मात्र नभई उत्पादित सिन्कामारी, अचार, सिलौटो, सिन्की, डाला, छिटुवालगायत सामग्रीलाई समेत बजारीकरण गर्ने गरिएको योगीले बताउनुभयो । उहाँका अनुसार अहिले जाल्पाका एक लाख सदस्य छन् । हाल दाङ, प्युठान, सल्यान, रोल्पालगायतका सदस्यले उत्पादन गरेका हरेक वस्तुलाई बजारीकरण गर्ने गरिएको छ । जाल्पाले किसानलाई ऋण दिने र त्यसबाट उनीहरुले उत्पादन गरेको वस्तु बजारीकरण गर्नका लागि महिला सामुदायिक सेवा केन्द्र हरियो बजार सञ्चालनमा ल्याईएको हो । विसं २०७४ देखि हरियो बजार सञ्चालनमा आएको हो । “जाल्पाले ऋण लगानी गर्ने र किसानले त्यसबाट दूध, तरकारी, महलगायत अन्य सामग्री पनि निर्माण गर्ने गरे, तर, त्यसले बजार पाउन सकेन”, उनले भने , “त्यसपछि हामी आफैँले हरियो बजार सञ्चालनमा ल्याएर किसानले उत्पादन गरेको चिजलाई प्रशोधन गरेर बजारसम्म लैजाने गरेका छौँ ।”

दूधबाट दही, पनिर, खुवा बनाएर बिक्री गर्ने गरिन्छ । त्यस्तै किसानबाट खरिद गरेको तोरीबाट तेल, धानबाट चामल, गहुँको पिठो बनाएर बिक्री गर्ने गरिएको छ । खर्च कटाएर मासिक रु २५ हजार आम्दानी हुन्छ । अहिले दाङको हरियो बजारमा २०० जनाले दूध उपलब्ध गराउने गरेका छन् । दैनिक ५०० लिटर दूध आफूहरुले खरिद गर्ने गरेको योगीले बताए । त्यस्तै २०० किसानले मह उत्पादन गर्ने गरेका छन् । हरियो बजारमा प्राविधिकसहित १५ कर्मचारी कार्यरत छन् । उनीहरु किसानको उत्पादनको घरमै गएर अवलोकन गर्ने गर्छन् । ती प्राविधिकले घरमै गएर तालिम प्रदान गर्ने देखि फर्मको अनुगमन गर्छन् ।

उपभोक्तासम्म आफ्नो उत्पादन गुण्स्तरीय बनाउनका लागि यसरी प्राविधिकलाई घरमै पु¥याउने गरिएको प्रदेश प्रमुख योगीले बताउनुभयो । उत्पादन भएको चिज काठमाडौं लगेर बिक्री गरिन्छ । काठमाडौँका चार सहकारीलाई उक्त चिज उपलब्ध गराउने गरिएको छ । अधिकांश स्थानीय बजारमै खपत भइरहेको छ । तोरीको तेल, गेँडागुडी, मह, बेसार, अदुवा, लसुनलगायतलाई काठमाडौँसम्म पनि पु¥याउने गरिएको छ । चालु आर्थिक २०७८÷७९ मा किसानबाट २०० क्विन्टल तोरी, ३०० क्विन्टल धान, २० क्विन्टल मह, पाँच क्विन्टल अन्य गेँडागुडी खरिद भएको उनले बताए ।

जाल्पाका सदस्य मात्रै नभई बाहिरबाट पनि यसरी किसानले उत्पादन भएको सामग्री हरियो बजारमा ल्याउने गरेका छन् । दाङ मात्रै नभई सल्यानबाट आलु, कागती, रोल्पाबाट आलु, लसुन, प्यूठानबाट गेँडागुडी पनि आउने गर्छ । सुरुमा काठेकोहलबाट सेवा दिएको हरियो बजारले अन्यठाउँबाट पनि सेवा थप गरेको छ । घोराही–१५ कै रतनपुरबाट उक्त सेवा प्रदान गरिएको हो । अब केही समयमा दाङ जिल्लाको तुलसीपुर र भालुवाङबाट यो सेवा सुरु गर्ने लक्ष्य छ । जाल्पाका हाल देशभर ९८ शाखा छन् । संस्थाले बचत, ऋण, बीमा, रेमिट्यान्स र उद्यमशीलता सेवा प्रदान गर्दै आएको छ । –रासस

Ad

RELATED POSTS

YOUR FEEDBACK: