जुम्लामा बजेट अभावमा पुरा भएन विद्यालय भवनको निर्माणको कार्य

Ad
  • Kalopati

कर्णाली । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले आर्थिक वर्ष ०७६-०७७-०७८ मा जुम्लामा सुरु गरेका विद्यालय भवन निर्माण तथा खेलकुद क्षेत्रका कतिपय योजनाहरु बजेट अभावमा अधुरो रहेका छन् । सामाजिक विकास मन्त्रालयको बजेटमा निर्माण कार्य सुरु गरिएको सरस्वती प्राविधिक मावि कुडारी जुम्लाको छ कोठे भवनको निर्माणको योजना पुरा भएको छैन ।

मन्त्रालयले रु ५० लाखमा विद्यालय भवन निर्माण गर्ने गरी सञ्चालन गरेको उक्त योजना बजेट अभावकै कारण अधुरो अवस्थामा रहेको उक्त विद्यालयका प्रधानाध्यापक रामविलास यादवले जानकारी दिए । मन्त्रालयले आर्थिक वर्ष ०७६÷०७७ मा जुम्लाका आठ विद्यालयमा छ कोठे भवन निर्माणका लागि रु ५०-५० लाख बजेट विनियोजन गरेको थियो । तर तिला गाउँपालिका–३ जुम्ला कुडारीस्थित सरस्वती प्राविधिक माविको निर्माणाधीन छ कोठे भवनका लागि मन्त्रालयले पूर्ण भुक्तानी नगर्दा निर्माण अधुरो रहेको प्रधानाध्यापक यादवले बताए ।

“अहिलेसम्म पहिलो किस्ता रु १५ लाख, दोस्रो किस्ता रु नौ लाख र तेस्रो किस्ता रु ६ लाख गरी रु ३० लाख बजेट प्राप्त भएको छ,” प्रधानाध्यापक यादवले भने , “कन्टिनजेन्सी रकम काटेर बाँकी रु १८ लाख रकम मन्त्रालयले बेलैमा निकासा नदिँदा निर्माण कार्यमा अवरोध पुगेको छ ।” विद्यालय भवन निर्माण कार्य ८० प्रतिशत भएको उनले जनाए । सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख तुलराज चौलागाईले सरस्वती प्राविधिक मावि कुडारी, रु १४ लाखको कर्णाली हाई अल्टिच्युड टेनिङ सेन्टर र डेढ करोड बराबरको जुम्ला कभर्ड हलको भलिबल प्याराफिट निर्माणको बजेट पठाउन पटक पटक अनुरोध गरिएको बताए ।

“मन्त्रालयले अन्तिम चौमासिकमा रकमान्तरण गरिने आश्वासन दिलाएकाले पैसा आउला भन्ने अपेक्षा गरेका छौँ,” उनले भने , “यो चुनावले पनि काम अघि नबढेको हुन सक्छ ।” सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी रामप्रसाद उपाध्यायले आर्थिक वर्ष ०७६-०७७ मा सबै पालिकामा नमूना विद्यालय निर्माणका लागि भनेर रु ५० लाखको बजेट विनियोजन भए पनि कोभिड महामारीले निर्माण सम्पन्न हुन नसकेको बताए । पछिल्लो समय बजेट थपेर भवन निर्माणका केही योजना सम्बोधन भएको तर केही बाँकी रहेको उनले बताए ।

उनका अनुसार यस वर्ष बजेट सम्बोधन हुन नसके पनि आगामी वर्षमा अधुरो रहेका सबै योजना सम्पन्न गरिनेछ । चालु आवमा बजेट रकमान्तरण हुन सक्ने अवस्था नरहेको सूचना अधिकारी उपाध्यायले बताए । –रासस

Ad

RELATED POSTS

YOUR FEEDBACK: