म्याग्दी । पश्चिम म्याग्दीको मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरमा निर्माणाधीन मङ्गला इन्द्रेणी पार्क र सङ्ग्रहालय अन्तिम चरणमा पुगेको छ । आर्थिक वर्ष २०७५-०७६ देखि सुरु गरिएको पार्क र सङ्ग्रहालयको करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको मङ्गला गाउँपालिकाले जनाएको छ । आन्तरिक पर्यटन प्रवद्र्धन तथा स्थानीयवासीलाई शारीरिक व्यायाम, विश्रामसहित आनन्दको अनुभूति दिलाउने उद्देश्यअनुरुप पार्क र सङ्ग्रहालय निर्माण थालिएको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताए ।
इन्द्रेणी पार्कमा हालसम्म सङ्ग्रहालय भवन, प्रतिक्षालय, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र, शौचालय, बाथरुमलगायतका भौतिक संरचना निर्माण सम्पन्न भएका छन् । पार्कको विभिन्न भागमा रेलिङ र सिँढी बनाइएको छ भने शारीरिक व्यायामका लागि ‘रनिङ स्पट’ पनि तयार भइसकेको छ । पार्कलाई हरियाली र आकर्षक बनाउनका लागि खण्डखण्डमा विभिन्न प्रजातिका सुन्दर फूल तथा बाह्रैमास हरियो रहने दुबो पनि सारिएको छ । फूल तथा दुबोलाई हरियाली बनाइ राख्न नियमित रुपमा पानीको ब्यवस्था गरिएको छ । त्यसका लागि बाबियाचौरका स्थानीयवासीले प्रयोग गर्ने मिटरको पानी जडान गरिएको छ । मिटरबाट नआएको समयमा म्याग्दी नदीबाटसमेत पानी तान्न सकिने ब्यवस्था मिलाइएको छ ।
पार्क निर्माणका लागि हालसम्म रु एक करोड ८ लाख ६७ हजार खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाले जानकारी दिनुभयो । उहाँका अनुसार पार्क निमार्णमा गाउँपालिकाले आर्थिक वर्ष २०७५-०७६ मा रु २५ लाख, २०७६-०७७ मा रु २५ लाख र २०७७-७८ मा रु २१ लाख १२ हजार विनियोजन गरेको छ । उपभोक्ता समितिबाट योजना सञ्चालन गरिएकाले प्रत्यक वर्ष विनियोजित बजेटको १० प्रतिशतले स्थानीले श्रमदानसमेत गरेका छन् । त्यस्तै पार्कभित्रै दुईतले दुई हल भएको मङ्गला सङ्ग्रहालय भवन निर्माण गरिएको छ । दुई आर्थिक वर्षमा पालिकाबाट विनियोजन भएको रु ३६ लाख ८० हजार र स्थानीयको श्रमदान गरी कूल ४० लाखको लागतमा उक्त भवन निर्माण सम्पन्न भएको ढुङ्गानाले बताए ।
सङ्ग्रहालय भवनमा पालिकाभित्रका ऐतिहासिक तथा पुरातात्विक वस्तु, विभिन्न जातजाति, समूह तथा वर्गका सीप, कला, संस्कृति तथा मौलिकता झल्किने महत्वपूर्ण सामग्री सङ्कलन गरेर राखिनेछ । त्यसका लागि भवनभित्र आवश्यक संरचना तयार पार्ने काम भइरहेको छ । मङ्गला गाउँपालिका–२ बाबियाचौर निवासी इन्द्रबहादुर अधिकारी र सम्मरबहादुर अधिकारीको परिवारले पार्कका लागि जग्गा उपलब्ध गराएको हो । म्याग्दी नदीको किनारमा रहेको चार रोपनी जग्गा इन्द्रबहादुरले गाउँपालिकालाई निःशुल्क रुपमा प्रदान गरेका हुन् हो भने पाँच आना जग्गा सम्मरबहादुरले पालिकाबाट रु तीन लाख मात्रै लिएर सहयोगस्वरुप प्रदान गरेका थिए ।
दुई हजार १९१ दशमलव ९५ वर्गमिटर क्षेत्रफलमा निर्माण भएको पार्कमा निःशुल्क रुपमा जग्गा दान गर्ने इन्द्रबहादुरको अर्धकदको सालिक बनाउने तयारीसमेत भइरहेको गाउँपालिका अध्यक्ष रोकाले बताए । उनका अनुसार पार्कमा बालबालिका लागि आवश्यक सामग्री लिएर आकर्षक बालउद्यान समेत बनाउने योजना रहेको छ । हरियाली बनाउने काम पनि अझै बाँकी रहेकाले ती सबै पूरा भएपछि मात्रै पार्क सञ्चालनमा ल्याइने जनाइएको छ । विशेषगरी पालिकाको केन्द्र बाबियाचौर बजारको आकर्षणका रुपमा मङ्गला पार्क रहनेछ । सङ्ग्रहालय मङ्गलाको संस्कृति र पहिचान झल्किने परम्परागत सामग्री अवलोकन गर्न पाउनु पार्कको अर्को विशेषता रहनेछ ।