स्थानीयवासीको अवरोधपछि वितरण केन्द्रले बिजुलीको लाइन काट्यो

Ad
  • Kalopati

खलङ्गा । जुम्लाको चन्दननाथ नगरपालिका– २ र ५ कालेखोली क्षेत्रका बासिन्दाले पोल गाड्न नदिएपछि विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रले बिजुलीको लाइन काटेको छ । समन्वयमा पोल गाड्न खोजिए पनि स्थानीयवासीले नदिएकाले केन्द्रले लाइन नै काटिदिएको हो । एयरपोर्ट लोड सेन्टरबाट कालेखोली क्षेत्रमा सय केभिएको विद्युत् आपूर्ति गरिए पनि पछिल्लो समय लोड धान्न नसकिएको केन्द्रका प्रमुख नरेश रावलले बताए । लोड व्यवस्थापनका लागि कालेखोली क्षेत्रमा ट्रान्सफर्मर राख्न दुई महिनादेखि प्रयास गर्दा पनि विवाद भएपछि बिजुलीको लाइन काटिएको र विवाद समाधान नहुञ्जेल कालेखोली क्षेत्रको बिजुली बन्द गरिएको छ ।

लाइन काटिएको विषयमा स्थानीय प्रहरी प्रशासन र नगरपालिकालाई पनि जानकारी गराइएको जनाइएको छ । चन्दननाथ नगरपालिका– ५ का वडाध्यक्ष अर्जुनसिंह कठायतले स्थानीयवासीसँग समन्वय गरी पोल गाड्न दिने वातावरण सिर्जना गरिएको बताए । ट्रान्सफर्मर २४ नम्बर बाहिनी नजिक राख्ने कुरा बुझिएको छ । अर्के ट्रान्सफर्मर कालेखोली नजिक सार्वजनिक शौचालयको छेउछाउमा राख्न जग्गा व्यवस्थापन गर्न सकिने उनको भनाइ थिए ।

ताम्ती गाउँ सडक सञ्जालमा जोडियो

जुम्लाको विकट मानिने तातोपानी गाउँपालिका भेरिखोलाको ताम्ती गाउँ सडक सञ्जालमा जोडिएको छ । जिल्लाकै दुर्गम ताम्ती सडक सञ्जालमा जोडिएसँगै स्थानीय हर्षित भएका छन् । सडक नहुँदा स्टेचरमा बिरामी बोक्नुपर्ने बाध्यता थिए, कैयौँको बाटोमै ज्यान गयो, अव सुखका दिन आउनेछन् । पिठ्यूँमा भारी बोकेर उकालोमा यात्रा गर्नुपर्ने दिन अब हटेको स्थानीयवासी अर्जुन रावतले बताए । ताम्तीबासीको गाउँमै मोटर हेर्ने चाहाना पूरा भएको छ ।

अव कोही सुत्केरी आमा, शिशु र बिरामीले ज्यान गुमाउने छैनन् । उक्त गाउँ भेरिखोलाको अन्न भण्डारका रुपमा चिनिन्छ । झण्डै तीन सय घरधुरी रहेको ताम्ती भेरिखोला क्षेत्रकै सबैभन्दा ठूलो गाउँ पनि हो । ” सिमी, आलु, फापर, मकै, गहुँ, जौँ प्रशस्त फल्ने यो गाउँमा आफ्ना कृषिजन्य उत्पादन बजारसम्म लैजान सहज हुने अपेक्षा गरिएको स्थानीयवासी वीरजीते रावतले बताए । –रासस

Ad

RELATED POSTS

YOUR FEEDBACK: