डिआइजी लोहनीद्धारा मनाङका अतिसंवेदनशील पाँच मतदान केन्द्रको निरीक्षण

Ad
  • Kalopati

मनाङ । गण्डकी प्रदेशका प्रहरी नायब महानिरीक्षक (डिआइजी) दिवेश लोहनीले मनाङका अतिसंवेदनशील मतदान केन्द्रको निरीक्षण गरेका छन् । उनले जिल्लाका अतिसंवेदनशील पाँच मतदान केन्द्रको निरीक्षण गरेका हुन् । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा जिल्लाका मतदानस्थलको अवस्थाको विश्लेषण तथा आवश्यक सुरक्षा व्यवस्था मिलाउन लोहनी मनाङ आएका हुन् ।

विकट तथा संवेदनशील क्षेत्रमा शान्त र सुरक्षित तवरबाट मतदान गराउन उनले जिल्लास्थित सुरक्षा निकायलाई निर्देशन दिएका छन् । प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार मतदानस्थलमा आवश्यक सुरक्षा प्रबन्धनका लागि जिल्लामा रहेका २८ मतदानस्थललाई तीन तहमा बाँडिएको छ । पाँच मतदानस्थललाई अतिसंवेदनशीलमा राखिएको आचार्यले बताए ।

भौगोलिक विकटता, विगतको सुरक्षा विश्लेषण, राजनीतिक दलबीचको प्रतिस्पर्धा, सञ्चार, सामाजिक संरचनालगायत आधारमा पाँच मतदानस्थललाई अतिसंवेदनशिलमा राखिएको उनले बताए। पन्ध्र मतदानस्थललाई संवेदनशील तथा आठ मतदानस्थललाई सामान्यमा राखिएको छ । अतिसंवेदनशिल र संवेदनशीलरुपमा वर्गीकरण गरिएका मतदानस्थलमा सोहीअनुसार सुरक्षा प्रबन्ध मिलाइने प्रजिअ आचार्यले बताए ।

सोहीअनुसार स्थानीय तहको निर्वाचनको दिन मतदानस्थलको सुरक्षा, मतपेटिका गणना स्थलसम्म सुरक्षितरुपमा लैजाने योजनासहित सुरक्षा प्रबन्ध मिलाइएको आचार्यले बताए । मनाङमा २८ मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचन आयोगको तथ्याङ्कअनुसार जिल्लामा ६ हजार ४९६ मतदाता छन् । पुरुष तीन हजार १४८ र महिला मतदाताको सङ्ख्या तीन हजार ३४८ रहेको छ । –रासस

Ad

RELATED POSTS

YOUR FEEDBACK: