गभर्नरमाथि गरिएको कारबाही फिर्ता लिन कर्मचारीहरुको माग, अध्यक्ष तिम्सिना भन्छन् -‘कारबाही फिर्ता नगरे थप कार्यक्रम गर्न बाध्य हुने छौँ’

Ad
  • Kalopati

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीमाथि गरिएको कारबाही विरुद्ध नेपाल राष्ट्र बैंकका कर्मचारीहरु आन्दोलित भएका छन् । कर्मचारीहरुले गभर्नर अधिकारीमाथि कारबाहीको विरोधमा आज राष्ट्र बैंकमा कोण सभा आयोजना गरेका हुन् । सभामा नेपाल राष्ट्र बैंक कर्मचारी संघका केन्द्रीय अध्यक्ष रुद्रप्रसाद तिम्सिनाले गभर्नर अधिकारीमाथि गरिएको कारबाही फिर्ता गर्न सरकारसँग माग गरेका छन् ।

कारबाही फिर्ता नभए आन्दोलनका थप कार्यक्रमहरु गर्ने बाध्य हुने चेतावनी समेत उनले दिएका छन् । यसअघि पनि केन्द्रीय बैंकका गभर्नरहरु कल्याणविक्रम अधिकारी, तिलकबहादुर रावल र विजयनाथ भट्टराईलाई तत्कालीन सरकारहरुले गरेको बर्खास्ती तथा निलम्बनको कर्मचारीहरुले विरोध गरेको तिम्सिनाले बताए । ‘त्यति बेला पनि हामी अख्तियारदेखि अदालतसम्म गएर आन्दोलन गरेका थियौँ’, चेतावनी दिँदै उनले भने, ‘त्यसैले हालका गभर्नरमाथि गरिएको कारबाही पनि सरकारले फिर्ता गरोस्, नत्र थप आन्दोलनका कार्यक्रमहरु गर्न बाध्य हुने छौँ ।’

कर्मचारीहरुले विरोधस्वरुप राष्ट्र बैंकको केन्द्रीय कार्यालयलगायत उपत्यका बाहिरका सम्पूर्ण कार्यालयहरुमा एकैसाथ कालो ब्यानर झुन्डाएका छन् । ब्यानरमा केन्द्रीय बैंकको स्वयत्ततामाथिको नाङ्गो हस्तक्षेप बन्द गर्न, निराधार तथा कपोकल्पित आरोपमा गभर्नर महाप्रसाद अधिकारीमाथि सुरु गरिएको कारबाही प्रक्रिया अविलम्ब फिर्ता गर्न र संकटोन्मुख राष्ट्रिय अर्थतन्त्रको उद्धारका लागि तत्काल विशेष नीति तर्जुमा गरी कार्यान्वयन गर्न सरकारसँग माग गरिएको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: