नदी कटानले देउराली नगर बस्ती जोखिममा, तटबन्धन बनाउन माग

Ad
  • Kalopati

मादीसेती नदी किनारस्थित व्यास नगरपालिका–३ देउराली नगर बस्ती जोखिममा परेको छ । नदी कटानले ती क्षेत्रका करिब ४०० घरधुरी जोखिममा पर्ने जनाइएको छ । सो क्षेत्रमा समयमै तटबन्धन गर्नुपर्ने स्थानीवासीको माग रहेको छ । बस्ती जोगाउन नदीमा तटबन्धन गर्न अतिआवश्यक देखिएकाले नगरपालिकालाई आग्रह गरिएको स्थानीय नमस्ते देउराली युथ क्लबका अध्यक्ष तिलबहादुर थापाले जानकारी दिए । स्थानीय नमस्ते देउराली युथ क्लबले मादी नदी किनारमा सेभेन साइड फुटबल खेलमैदानसमेत बनाएका छन् । डोजर लगाएर जग्गा सम्याएर फराकिलो बनाएपछि माटो ल्याएर फिलिङ गरिएको हो । व्यास नगरपालिका कार्यालय र स्थानीयवासीको करिब रु सात लाख आर्थिक सहयोगमा खेलमैदान निर्माण गरिएको उनले बताए । उक्त क्षेत्रमा खेलमैदान निर्माण गरिएपछि त्यसक्षेत्रका युवायुवती फुटबल र भलिबल खेलका लागि उत्साहित भएर खेल्न थालेका छन् ।

खेलमैदान र देउराली नगरका बस्ती नदीले कटान गरी क्षति हुनसक्ने भएकाले समयमै सम्बन्धित निकायले ध्यान दिन आग्रह गरिएको स्थानीय बाबुराम बगालेले जानकारी दिए । नदी किनारमा तटबन्धन गरिए खेलमैदान र बस्ती जोगाउन सहयोग पुग्ने विश्वास गरिएको स्थानीयवासी बताउँछन् । व्यक्तिले हडपेर प्रयोग गर्दै आएको सार्वजनिक जग्गा देउराली नगरवासीको सक्रियतामा संरक्षण गरी खेलमैदान निर्माण गरिएको उनले बताए । उक्त बस्ती संरक्षणका लागि व्यास नगरपालिका कार्यालयले चासो दिँदै आएको जनाएका छन्  । ऋषिङ गाउँपालिका र व्यास नगरपालिकाको बीच भागमा मादीसेती नदी बग्ने गरेको छ । ऋषिङ गाउँपालिका र व्यास नगरपालिकाले समन्वय गरी मादीसेती नदी किनारमा तटबन्धन गर्ने योजना रहेको व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले बताए । –रासस

Ad

RELATED POSTS

YOUR FEEDBACK: