गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल वैशाख ८ गतेदेखि सञ्चालन गरिने

Ad
  • Kalopati

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग वैशाख ८ गतेदेखि सञ्चालनमा ल्याउने भएको छ । प्राधिकरणले पुरानो १५ सय मिटर लामो धावनमार्ग बन्द गरेर ३ हजार मिटर लामो नयाँ धावनमार्ग सञ्चालनमा ल्याउन लागेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इञ्जिनियर प्रदीप अधिकारीले बुद्ध, यति, श्री, गुण र सौर्य गरी ५ एयरलाइन्सले वैशाख ८ गतेदेखि आन्तरिक उडान शुरु गर्ने बताए ।

उनले वैशाख ८ गतेदेखि धावनमार्ग शुरु हुने भए पनि अन्तर्राष्ट्रिय उडान भने नहुने बताए । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान जेठ २ गते बुद्ध जयन्तीका दिनबाट शुरु हुने जानकारी दिए । महानिर्देशक अधिकारीले गौतमबुद्ध विमानस्थलमा टर्मिनल बिल्डिङ निर्माण र रन वेको क्षमता बढाउने काम मात्र बाँकी रहेको स्पष्ट पार्नुभयो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै त्रिभूवन विमानस्थलमा ट्राफिक कम हुने विश्वास लिएको बताए । महानिर्देशक अधिकारीले अहिले न्यारोबडी र वाइडबडीका लागि धावनमार्ग तयार भएको बताए । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि हालसम्म जजिरा एयरले अनुमति पाएको पनि बताए । जजिराले अर्को हप्ताबाट टिकट बिक्री गर्ने सम्भावना रहेको पनि बताए ।

महानिर्देशक अधिकारीले पोखराको विमानस्थलको भौतिक पूर्वाधारको काम पनि लगभग सकिएको र ढिलोमा अंग्रेजी नयाँ वर्ष र छिटोमा दशैंसम्ममा पोखरा विमानस्थलबाट पनि अन्तर्राष्ट्रिय उडान गर्ने बताए । उनका अनुसार पोखरा विमानस्थल सञ्चालनका लागि नजिकै रहेको ल्याण्डफिल्ड साइट हटाउने कार्य र पूर्वतिरको रिट्ठेपानी डाँडा कटानको काम मात्र बाँकी रहेको छ । अबको १५ देखि २० दिनभित्रमा डाँडा कटानको काम शुरु गर्ने र कटान दुई महिनामा सक्ने लक्ष्य राखेको बताए । महानिर्देशक अधिकारीले कोरोना भाइरसपछि बढ्दो हवाई उडानको चाप बढेसँगै अब प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थललाई २४ सै घण्टा सञ्चालन गर्ने बताए । त्यस्तै प्राधिकरणले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल जेठ १५ देखि २४ सै घण्टा खुल्ला गर्ने र गौतमबुद्ध तथा पोखरा अन्तर्राट्रिय विमानस्थल पनि सञ्चालनपछि २४ सै घण्टा खुल्ला गर्ने जनाएको छ ।

महानिर्देशक अधिकारीले नेपालका विमानस्थलको पूर्वाधारको विकाश तथा स्तरोन्नतीमा पर्यटनमन्त्री पे्रम आलको विशेष निर्देशन रहेको बताए । मन्त्रालय तथा प्राधिकरण बीच भएका बिभिन्न बैठकमा मन्त्री आलेले आन्तरिक विमानस्थलको विकाश तथा स्तरोन्नतीले हवाइ उड्डयन क्षेत्रमा व्यापक परिवर्तन गर्न सकिने भन्दै योजना बनाएर काम गर्न निर्देशन दिएको बताए । मन्त्रीको निर्देशन अनुसार अहिले भइरहेका टर्मिनल बिल्डिङहरु पुरानो भइसकेको र अब सबै विमानस्थलका टर्मिनल बिल्डिङ बनाउने योजनामा प्राधिकरण रहेको बताए । महानिर्देशक अधिकारीले पहाडका ३७ वटा विमानस्थलमा १५ औँ योजनाअन्तर्गत कालोपत्रे गर्ने योजना भएपनि प्राधिकरणले ४० वटा विमानस्थलको कालोपत्रे गर्ने योजना बनाएको जानकारी दिए ।

उनले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल बिल्डिङ पनि अत्याधुनिक बनाउने योजनामा प्राधिकरण रहेको बताए । महानिर्देशक अधिकारीले अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा खुल्ला गर्ने र तराईका रात्रीकालीन उडान भइरहेका विमानस्थलको सेवा राती १२ बजेसम्म बढाउने योजना रहेको पनि बताउनु भयो । उनले तराईका अधिकांश विमानस्थलका टर्मिनल बिल्डिङलाई नयाँ अत्याधुनिक र सुविधासम्पन्न बनाउने बताए । उनका अनुसार अब बन्ने टिर्मनल बिल्डिङ अत्याधुनिकका साथै व्यापारिक परियोजनाका लागि पनि बनाइने छन् । उनले अबको १० वर्षमा निजगढ विमानस्थल सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए । यदी १० वर्ष भित्र अर्को अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा नआए नेपालको उडान समस्या पुनः अहिलेकै जस्तो हुने उनको भनाइ छ ।

महानिर्देशक अधिकारीले विमानस्थलको बढ्दो प्रयोगसँगै मुलुकको अर्थतन्त्रमा पनि यसले सकारात्मक विकास गर्ने बताए। उनले अब पनि विमानस्थलको प्रयोगमा वृद्धि गर्ने र पर्यटकहरुलाई आकर्षण नगर्ने छुट प्राधिकरणसँग नरहेको स्पष्ट पारे । प्राधिकरणले तराईका विमानस्थलमा भइरहेका रात्रीकालीन आन्तरिक उडानलाई १२ बजेसम्म सञ्चालन गरेपछि त्यसले पर्यटन क्षेत्रमा पनि सुधार गर्ने विश्वास लिएको छ । हवाइ उडानको उचित र सही व्यवस्थापन गरेर अघि बढ्ने हो भने त्यसबाट आएको रकमले नै विमानस्थलको मर्मत र देशको समृद्धिमा सहयोग पुग्ने विश्वास प्राधिकरणको छ ।

 

Ad

RELATED POSTS

YOUR FEEDBACK: